इलाम : इलाम सदरमुकाममा १० फागुनदेखि प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
छैटौं संस्करणसम्म अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप प्रतियोगिता आयोजना गरेको माईभ्याली फुटबल क्लबले पहिलो पटक महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सदरमुकामस्थित ठूलो टुँडीखेलमा सञ्चालन हुने महिला फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको आइतबार पत्रकार सम्मेलन गरी आयोजक माईभ्याली फुटबल क्लबले जनाएको छ ।
प्रतियोगितामा इलामका ४ नगरपालिका र ६ गाउँपालिकाका १० महिला फुटबल टिमको सहभागिता रहनेछ ।
विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख रुपैँया र ट्रफी पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार प्रदान गरिने माईभ्यादी फुटबल क्लबका अध्यक्ष दिनेश काफ्लेले बताए ।
प्रतियोगिताको फाइनल १९ फागुनमा हुनेछ ।
प्रतियोगितामा दर्शकका लागि प्रवेश शुल्क पचास रुपैयाँ राखिएको क्लबका अध्यक्ष काफ्लेले बताए । फाइलनमा भने एक सय राखिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई भने नि:शुल्क प्रवेश गर्न पाउने व्यवस्था गरिएको उनले बताए ।
जिल्लामा रहेका महिला फुटबल खेलका प्रतिभाहरुको पहिचान गर्ने र महिलाहरुलाई समेत अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिताको तयारी गरिएको अध्यक्ष काफ्लेले बताए ।
गएको ६ देखि १३ माघसम्म प्रथम संस्करणको इलाम गोल्डकप सञ्चालन भएको टुँडीखेलमा आउँदो २ देखि ७ फागुनसम्म प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी भईरहेको छ ।