इलामको माई नगरपालिकामा ‘हाम्रो माई नगर’ पढाई

  राम योङहाङ
406 Shares

इलाम : इलामको माई नगरपालिकाले स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई आफ्नो नगरको समग्र अवस्थाको बारेमा जानकारी गराउने गरी निर्माण गरिएको पाठ्यक्रम ‘हाम्रो माई नगर’ माईका सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याएको हो

माईले आधारभूत तह कक्षा १ देखि ८ सम्म  १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको हो । नगर शिक्षा शाखा प्रमुख सीता लावतीले नगरभित्रका आधारभूत विद्यालयमा ‘हाम्रो माई नगर’ पाठ्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिइन् ।

सबै सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको माईले पहिलो चरणमा ३ वटा कक्षाको पाठ्यपुस्तक समेत तयार गरेको उनले बताइन् । ‘स्थानीय विषय समेटेर निर्माण गरिएको पाठ्यक्रम यहाँका सबै आधारभूत विद्यालयमा लागू गरिएको छ’ शिक्षा शाखा प्रमुख लावतीले भनिन् ‘पहिलो चरणमा कक्षा ४, ५ र ८ को पाठ्यपुस्तक समेत तयार गरी वितरणको तयारीमा छौं, अन्य कक्षाको पाठ्यपुस्तक समेत आगामी वर्ष क्रमशः पाठ्यपुस्तक तयार गर्नेछौं ।’

माई नगरको पहिचानलाई विद्यालय तहददेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गरिएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताए । उनले स्थानीय पाठ्यपुस्तकले माई नगरक्षेत्रको शैक्षिक विकास तथा पहिचानमा सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

विद्यालयले स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराउनेछन् । स्थानीय विषयवस्तु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने उद्देश्यले तयार गरिएको स्थानीय शैक्षिक सामग्री नै स्थानीय पाठ्यक्रम हो ।

पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले गठन गरेको समितिले जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका अगुवा, शिक्षाविद्लगायतको सुझावको आधारमा स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्न सक्ने व्यवस्था गरेकाले पाठ्यपुस्तक प्रकाशन गरेर विद्यार्थीलाई अध्ययनका लागि व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।

नेपालको संविधानको भाग ३ मा मौलिक हक अन्तरगत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रुपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।

लिम्बू भाषा समेत पढाई

यसैबीच माई नगरपालिकाले दुईवटा विद्यालयमा लिम्बू भाषा पठनपाठन गराउँदै आएको छ । लिम्बू जातिको सघन बसोबास रहेको माई नगरपालिका-६ स्थित भगवती माध्यमिक विद्यालय र विन्तिविनायक आधारभूत विद्यालयमाख लिम्बू भाषा पाठ्यपुस्तक ‘आनी पान’ कार्यान्वयनमा ल्याएको हो ।

नगरपालिकाले भाषा शिक्षक अनुदान दरबन्दीको व्यवस्था गरी विद्यालयमा लिम्बू भाषा पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख लावतीले बताइन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार ३० हजार नौ सय ८८ जनसङ्ख्या रहेको माई नगरपालिकामा सामुदायिकतर्फ क्याम्पस एक, माध्यमिक विद्यालय १० र आधारभूत विद्यालय ३६ वटा रहेका छन् । संस्थागततर्फ १३ वटा विद्यालय रहेको माई नगरपालिकाको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार