पत्रकार निष्ठुरीसहित सय बढी पुरस्कृत र सम्मानित

  नयाँ बुलन्द
273 Shares

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णू निष्ठुरीलाई सम्मान गर्दै इलाम नगरपालिकाका प्रमुख केदार थापा, उपप्रमुख विष्णुकुमारी लिम्बू (दाहाल) लगायत ।

इलाम : नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णू निष्ठुरी इलाममा सम्मानित भएका छन् । लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकार निष्ठूरीलाई शुक्रबार इलाम नगरपालिकाले १४ औं नगरसभामा सम्मान गरेको हो ।

तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला निष्ठुरी पत्रकार महासंघका अध्यक्ष थिए । लोकतान्त्रिक आन्दोलनको क्रममा उनी जेल समेत परेका थिए ।

त्यसैगरी इलाम नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका पत्रका महासंघ इलामका पूर्व अध्यक्ष सोमनाथ सुसेलीलाई पुरस्कृत गरेको छ । २१ हजार एक सय ११ नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुसेलीलाई पुरस्कृत गरेको हो ।

त्यसैगरी सोही राशीको उत्कृष्ट दुग्ध उत्पादक पुरस्कार पार्वती कट्वाल, उत्कृष्ट फलफूल उत्पादक पुरस्कार सामवेद चापागाई, उत्कृष्ट चिया उत्पादक कृषक पुरस्कार डम्बर खत्रीले पाएका छन् ।

त्यस्तै नगरपालिकाले पूर्व सचिव खेमराज नेपाल, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको पूर्व क्याम्पस प्रमुख खगेन्द्रनाथ शर्मा, खेलकुद क्षेत्रमा योगदान पुर्याएका नन्दकुमार राईसहित कर्मचारी, शिक्षक, पूर्व शिक्षक, समाजसेवीलगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका सय बढी व्यक्तिलाई सम्मान गरेको छ ।

नगर प्रमुख केदार थापाले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार