काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपा एमाले ‘क्लीन स्वीप’ हुनबाट जोगिएको छ । आगामी फागुन २० पछि रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ पदका लागि बिहीबार निर्वाचन भएको थियो ।
उक्त निर्वाचनमा १८ ठाउँमा उम्मेदवार उठाएको एमालेले कोशी प्रदेशमा एक सिट मात्रै जित्यो । १९ माध्ये सत्ता गठबन्धनले १८ पदमा जित हासिल गरेको छ ।
एमाले ‘क्लीन स्वीप’ हुनबाट जोगिँदा कोशीमा एमालेका रुक्मिणी कोइराला निर्वाचित भएका छन् । कोशीमा दुई सिटको लागि निर्वाचन भएको थियो । एमाले सुरुमा दुवै सिटमा उम्मेदवार दिएपनि अन्तिममा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरेको थियो ।
कोशीमा एमाले र राप्रपाले तालमेल गरेपनि अन्यतर्फ भने सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन् ।
‘फ्लोर क्रस’ गर्दै सत्ता गठबन्धनका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखबाटै एमालेका उम्मेदवार भोट दिएका हुन् । त्यसक्रममा रुक्मणीले गठबन्धनबाट उम्मेदवार चम्पादेवी कार्की पराजित भए ।
आज भएको निर्वाचनमा कांग्रेसका १०, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र नेकपा एमालेका एक–एक जना निर्वाचित भएका छन् ।
बागमती प्रदेशमा चार सिटको लागि निर्वाचन भएको थियो । जसमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित भएका छन् ।
अन्य कलस्टरमा कांग्रेसका जीतजंग बस्नेत, महिलामा विष्णुदेवी पुडासैनी, अपाङ्गता÷अल्पसंख्यकमा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र दलित नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
गण्डकी प्रदेशमा तीन पदका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले तीन वटै पदमा जित हासिल गरेको छ । जसमा कांग्रेसका दुई र माओवादी केन्द्रका एक रहेका छन् ।
अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा माओवादीका मनरुपा शर्मा र अपांगता क्लस्टरमा कांग्रेसका पदम परियार निर्वाचित भएका छन् ।
मधेश प्रदेशमा भएको दुई पदमा गठबन्धनले नै जित हासिल गरेको छ । जसमा अन्यकोटामा आनन्दप्रसाद ढुंगाना र महिला कोटामा पूजा चौधरी निर्वाचित हुन् ।
यस्तै लुम्बिनी प्रदेशमा दुई सिटका लागि भएको निर्वाचनमा गठबन्धनकै उम्मेदवार विजयी भएको छ । जसमध्ये महिलातर्फ कांग्रेसका विष्णुकुमारी सापकोटा र अन्य तर्फ माओवादीका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् ।
यसैगरी सुदूरपश्चिम प्रदेशको सबै ठाउँमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ माओवादीका रेणु चन्द, अपांगतातर्फ कांग्रेसका नारायण भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् ।
कर्णालीबाट पनि गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, दलिततर्फ माओवादीका विष्णु विक ‘विकल्प’ र अन्यतर्फ कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् ।
-दृष्टि