इलाम : पाँचथर फुटबल क्लब इलाममा जारी प्रथम इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा बुटवल फुटबल क्लब लुम्बिनीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै पाँचथरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरी भएपछि टाइब्रेकरको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो । टाइब्रेकरमा पाँचथरका अशोक खवास, सुनिल खड्का, मञ्जिल खड्का र रोमन भुजेलले जाली चुमाए । सिमान्त थापाको प्रहार बुटवलका गोलकिपर मोहम्मद मोस्सीले बचाउ गरेपनि जितका लागि पर्याप्त भएन ।
बुटवलका चन्दन दास, विकास लामा र विदेशी खेलाडी मार्टिनले गोल गरे । जनक कोइरालाको प्रहार पाँचथरका गोलकिपर रोशन नेपालले बचाउ गरे भने अनिल महर्जनको प्रहार बाहिरिएको थियो ।
खेलको पाँचौ मिनेटमा नै पाँचथरका कप्तान रोशन आङदेम्बेले हेडमार्फत पहिलो गोल गरेर अग्रता लिएपनि ३५ औं मिनेटमा बुटवलका तर्फबाट विदेशी खेलाडी स्टेफेन न्यामले गोल गरी बराबरीमा ल्याए । ३८ औं मिनेटमा पुन: पाँचथरका सिमान्त थापाले गोल गरी अग्रता दिलाए । पाँचथरले पाएको कर्नरको अवसरलाई सदुपयोग गर्दै थापाले जाली चुमाए ।
पहिलो हाफमा १ गोल अन्तरले पछि परेको बुटवलले दोस्रो हाफमा खेल सुधार गर्दै ५१ औं मिनेटमा बराबरीमा ल्यायो । पाँचथरका खेलाडीले पाउल बनाएपछि पाएको फ्रिकिकको अवसलाई सदुपयोग गर्दै बुटवलका विदेशी खेलाडी मार्टिनले गोल गरे ।
जितसँगै पाँचथरले अब फाइनल प्रवेशका लागि विहीबार हुने दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापासँगको भेट पक्का गरेको हो । झापाले दोस्रो क्वाटर फइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ३-० गोल अन्तरमा पराजित गर्दै समिफाइनल प्रवेश गरिसकेको छ ।
खेलको म्यान अफ द म्याच विजेता टिम पाँचथरका कप्तान रोशन आङदेम्बे घोषित हुँदै नगद पाच हजार प्राप्त गरे ।
भोलि (बुधबार) पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम र न्युरोड टिम (एनआरटी) बीच फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुनेछ ।
रेडहर्ष फुटबल क्लब इलामको आयोजनामा सञ्चालित गोल्डकपमा एक विदेशी टिमसहित ८ वटा टिमको सहभागिता थियो । विजेताले नगद पाँच लाख र उपविजेताले नगद तीन लाखसहित पदक र प्रमाणपत्र पाउनेछन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिपेन्डर, उदयीमान खेलाडी र उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन नगद पाँच हजार पुरस्कार पाउनेछन् ।
गोल्डकपको फाइनल माघ १३ गते हुनेछ ।