संघर्ष समितिले माघ १३ गते जिल्ला जागरण प्रशिक्षण आयोजना गर्ने

  नयाँ बुलन्द
1k Shares

इलाम : तत्कालनीन प्रदेश १ को नाम ‘कोशी’ राखिएपछि त्यसको खारेज गरी पहिचानको आधारमा पुन: नामाङ्करणको माग गर्दै आन्दोलनरत ‘प्रदेश नं. १ पुन: नामाङ्करण संयुक्त संघर्ष समिति’ ले माघ दोस्रो साता जिल्ला जागरण प्रशिक्षण आयोजना गर्ने भएको छ ।

पुस २६ र २७ गते सुनसरीको धरानमा बसेको संघर्ष समितिको बैठकको निर्णय अनुसार आउँदो माघ १३ गते १४ वटै जिल्लामा एकैदिन जागरण प्रशिक्षण आयोजना गर्ने भएको हो ।

यसैबीच इलाममा सञ्चालन हुने जिल्ला जागरण प्रशिक्षणको तयारी सुरु गरिएको छ । बुधबार संघर्ष समितिका सचिव पुष्पा राईको अध्यक्षता र संघर्ष समितिका घटक किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा बसेको जागरण तयारी बैठकसँगै प्रशिक्षणको तयारी सुरु भएको हो ।

प्रशिक्षणमा संघर्ष समितिका केन्द्रीय प्रतिनिधिहरु, जिल्लाका घटका संघसंस्था/दलहरुको जिल्ला कार्यसमिति, पालिका समितिका पदाधिकारी र इलाम नगरका पालिका र वडा समितिका पदाधिकारीलाई सहभागी गराउने निर्णय भएको छ ।

प्रशिक्षणमा सहजीकरणका लागि संघर्ष समितिका केन्द्रीय समन्वय समितिबाट आउनेछन् ।

बैठकमा संघर्ष समितिका सचिवालय सदस्य रामभक्त कुरुम्बाङ, किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य विष्णु तुम्बापोलगायत घटक संघसंस्था र दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

संघर्ष समितले सञ्चालन गरेको विरोधका नियमित कार्यक्रमलाई निरन्तरता दिने, वंशगद्धार घोषित ८२ प्रदेशसभा सदस्यलाई विरोध जनाउँदै उनीहरुको तस्बिर क्रस गरी सार्वजनिक स्थलमा प्रदर्शन गर्ने, कोशी लेखिएका कार्यालय बोर्ड र लेटरप्याड हटाउन लगाउन, नहटाए पहिचानका लागि युवा दस्ताले हटाउने, फागुन १७ गते कोशी नामाङ्करण गरेको दिलाई कालो दिनका रुपमा मनाई आम हड्ताल गर्नेलगायतको कार्यक्रम तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार