विद्यार्थीका लागि बाल बचत गराउँदै सूर्योदय नगरपालिका

  राम योङहाङ
343 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकाले विद्यार्थीहरुका लागि बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तरत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो ।

मेयरसँग बालबालिका कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जानकारी दिए । कार्यविधिमा प्रत्येक विद्यार्थीले अनिवार्य बैंक खाता खोल्नुपर्ने प्रावधान राखिएको छ । खाता खोलेपछि विद्यार्थीले दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने उनले बताए ।

विद्यार्थीहरुलाई बचत गर्ने बानीका विकास गर्न यस्तो कार्यक्रम ल्याईएको मयेर राईले बताए ।  उनका अनुसार कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरु कार्यक्रमममा सहभागी हुन पाउनेछन् । नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संस्थागत विद्यालयका विद्यार्थीका लागि हिमालयन बैंक लिमिटेडसँग सम्झौता गरेर काम अगाडी बढाएको हो ।

‘हामीले दुईवटा बैंकसँग सम्झौता गरेका छौं । बैंकले सबै विद्यार्थीको बैंक खाता शुन्य ब्यालेन्समा खोलिदिनुका साथै रु एक सय समेत जम्मा गरिदिन्छ’ मेयर राईले भने, ‘विद्यार्थीहरुले त्यो खातामा प्रत्येक दिन न्युनतम रु पाँच जम्मा गर्नुपर्छ । थप रकम आफ्नो गच्छेअनुसार बचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको बचतको ब्याजमा २ प्रतिशत रकम वार्षिक रुपमा एकमुष्ठ जम्मा गरिदिन्छौं ।’

कार्यक्रम अन्तरगत नगरभित्रका सबै विद्यार्थीले बैंक खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका एक हजार ५० जना र संस्थागत विद्यालयका दुई हजार दुई सय विद्यार्थीले बैंक खाता खोलिसकेको युवा, खेलदुक तथा शिक्षा शाखा प्रुमख एवम् सूचना अधिकारी योगनीधि भट्टराईले बताए ।

सूर्योदय नगरपालिकामा एक क्याम्पस, ६३ वटा वटा सामुदायिक, ३० वटा संस्थातग विद्यालय र ५५ वटा बालबिकास केन्द्र छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार