गणतन्त्रको विकल्प खोज्ने बेला भएको छैन : नेम्बाङ

  नयाँ बुलन्द
231 Shares

इलाम : प्रतिनीधिसभा सदस्य वसन्तकुमार नेम्बाङले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने बेला नभएको बताएका छन् । पछिल्लो समय राजावादीहरु सलबलाएकोप्रति लक्षित गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत बनाउन लाग्नुपर्ने समयमा गणतन्त्रको विकल्प खोज्नु उल्टो हिँड्नुसरह बताए ।

इलामको देउमाई नगरपालिका-९ र माङसेबुङ गाउँपालिका-३ को संगमस्थल खत्रक्पा फुलुङ्गीमा आयोजित सत्यहाङ्मा शान्ति मकर मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हज्जारौं जनताको बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै एकजुट हुने बेला आएको बताए ।

‘तपाईहरु यस धार्मिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि सत्तापक्ष प्रतिपक्ष नभनी सबै पार्टीह रुजसरी मिलेर अघि बढ्नुभएको छ । त्यसको परिणाम पनि राम्रै आइरहेको छ’ उनले भने , ‘जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न देशका मुख्य पार्टीहरु पनि त्यसरी नै सहकार्य गर्न जरुरी छ ।’

जनताले चाहे क्षणभरमै परिवर्तन हुनसक्ने बताउँदै उनले अहिले जनताले राजतन्त्र र एकात्मक शासन व्यवस्थाको परिकल्पना समेत नगरेको दावी गरे ।

उनले आफ्नो निर्वाचन क्षेत्र नभएपनि धार्मिक क्षेत्र फुलुङ्गीको विकासका लागि आफ्नो तर्फबाट पहलकदमी लिने प्रतिवद्धता जना । वसन्त पाँचथरबाट निर्वाचित सांसद हुन् ।  इलाम क्षेत्र नं. २ का तत्कालिन सांसद सुवासचन्द्र नेम्बाङको निधनपछि भएको पहिलो ‌औपचारिक कार्यक्रममा वसन्तलाई निमन्त्रणा गरिएको थियो ।

खत्रक्पा किरात धर्मावलम्बीहरुको महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले तपस्या गरेको क्षेत्र हो । त्यस क्षेत्रलाई स्थानीयबासीले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिपरेका छन् ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, ३ नं. वडाअध्यक्ष लक्षुमन राई जनम, वडा नं. ५ का अध्यक्ष नरेन्द्रकुमार राईलगायतको उपस्थिति थियो ।

खत्रक्पा संरक्षण समितिका अध्यक्ष लोकबहादुर लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले आर्शिवचन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार