इलाम : इलामको सूर्योदय नगरपालिकाले अर्धवार्षिक गतिविधि सार्वजनिक गरेको छ । आइतबार नगरपालिकाले नियमित पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्ष २०८०।०८१ को साउनदेखि पुस मसान्तसम्म सञ्चालन गरेका विभिन्न गतिविधि सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नगप्रमुख रणबहादुर राई, प्रवक्ता ख्याम भुजेल र सूचना अधिकारी योगनीधि भट्टराईले अर्धवार्षिक गतिविधिबारे जानकारी गराएका थिए ।
नगरपालिकाले पूर्वाधार विकाश शाखा, प्रशासन शाखा, योजना शाखा, युवा खेलकुद तथा शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, कृषि शाखा, पशु शाखा, स्वास्थ्य शाखा, आर्थिक प्रशासन शाखालगायत विभिन्न शाखागत रुपमा भएका गतिविधि प्रस्तुत गरिएको थियो ।
सूर्योदय नगरपालिकाले चालु आवका लागि नगरसभाले स्वीकृत गरेको एक अर्ब २६ करोड २६ लाख ७९ हजार रुपैयाँमध्ये दुई त्रैमासिकमा चालुतर्फ ३० प्रतिशत र पुँजीगततर्फ २४ प्रतिशत खर्च गरेको छ ।
धेरै योजना सम्झौता भएपनि कार्यान्वयनको चरणमा रहेको र केही योजना बहुवर्ये भएकाले पुँजीगत खर्चको प्रतगित कमी देखिएको नगरप्रमुख राईले बताए । ‘हाम्रो धेरै योजनाहरु सम्झौता भएर कार्यान्वयनका चरणमा छन् । कतिपय भुक्तानी हुन बाँकी छ । केही योजनाहरु बहुवर्षे समेत छन् । त्यसैले पुँजीगत प्रगति कमी देखिएको छ’ नगर प्रमुख राईले भने, ‘अर्को त्रैमासिकमा पुँजीगत प्रगति बढेको देखाउनेछ ।’
उनले नगरको आर्थिक र भौतिक प्रगति सन्तोषजनक भएको बताए । उनले चिया, दूध, शिक्षा, स्वास्थ्य र पर्यटनमा दीर्घकालीन सोचका साथ योजना सञ्चालन गरिरहेको बताए ।
प्रवक्ता भुजेलले नगरपालिकाले हरेक महिना पत्रकार सम्मेलन गरी गतिविधि सार्वजनिक गरिने बताए । उनले सुशासनका लागि पारदर्शीता, जवाफदेहीता र जिम्मेवारी बोध गर्न सूर्योदय सधैं प्रतिवद्ध रहेको बताए ।