इलामको लिङसुवामा ८८ लाखको सिचाईं योजना सुरु

  राम योङहाङ
434 Shares

इलाम : इलाम नगरपालिका-१२ लिङसुवामा रु ८८ लाख ३४ हजार तीन सय ३१ को लागतमा लिङसुवा राते खोला सिचाईं योजना सुरु भएको छ । इलाममा संचालित साना सिचाईं कार्यक्रम अन्तरगत लिङसुवा टोलमा सिचाईं योजना सुरु भएको हो ।

स्थानीय राते खोलाबाट पानी ल्याउने गरी सुरु भएको योजना अन्तरगत तीन हजार आठ सय ६१ मिटर लम्बाईको कूलो निर्माण हुनेछ । योजना अन्तरगत इन्टेक एक, पैदल पुल तीन, सुपर प्यासेज आठ, आएटलेट पाँच, पाइप कनेक्सन चेम्बर दुई र भिलेज रोड ब्रिज दुईवटा निर्माण हुने लिङसुवा राते सिचाईं जल उपभोक्ता संस्थाका सचिव रमेशकुमार लिङदमले जानकारी दिए ।

त्यस्तै, दुईतर्फी पक्की पुल एक हजार नौ सय ३० मिटर, कूलो ताछ्ने एक हजार सात सय ८४ मिटर, पाइप कूलो २५ मिटर निर्माण गर्नुपर्ने र गेबियन पर्खाल २६ बक्स लगाउनुपर्ने सम्झौता रहेको उनले बताए ।

योजना सम्पन्न भएपछि लिङसुवा र आसपासका ४७ घुरधुरी किसानहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यस्तै, त्यस क्षेत्रका तीन सय ४० रोपनी क्षेत्रफलमा सिचाईं सुविधा पुग्ने उपभोक्ता संस्थाका सचिव राम लिङदमले बताए ।

‘वर्षौदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिंचाई गरिरहेका लिङसुवामा सिचाईं आयोजना सुरु भएपछि किसानहरु उत्साहित भएका छन्’ सचिव लिङमले भने, ‘योजना सम्पन्न भएपछि वर्षको एक पटक मात्र बालीनाली पाक्ने लिङसुवाका करिब साढे तीन सय रोपनी क्षेत्रमा सिंचाई सुविधा पुग्नेछ ।’

योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत अर्थात् रु २६ लाख ५० हजार दुई सय उनान्सय, संघीय सरकार, प्रदेश सरकार र इलाम नगरपालिकाको २०/२० प्रतिशत अर्थत प्रत्येकको रु १७ लाख ६६ हजार आठ सय ८८ र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत अर्थात्  रु आठ लाख ८३ हजार चार सय ३३ प्रतिशत लागत साझेदारी रहेको छ ।

योजना आर्थिक वर्ष २०८०।०८१ असार २० गतेसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले इलाममा स्वीस सरकारको सहयोगमा साना सिचाई कार्यक्रम संचालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार