इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सञ्चालन गरेको दुई दिने एकीकृत घुम्ती सेवामा तीन सय ७६ जना स्थानीय लाभान्वित भएका छन् ।
सन्दकपुर गाउँपालिका-५ को जौबारी र आसपासमा बिहीबार र शुक्रबार सञ्चालित शिविरमा ८० जना नागरिकको स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जानकारी दिए ।
शिविरमा २१ जनाको व्यवसाय दर्ता गरिएको छ । त्यस्तै, ४५ जना कृषकलाई लेकाली क्षेत्रमा खेती हुने तरकारी मुला, गाँजर, कोपीलगायतको बिऊ बिजन वितरण गरिएको छ ।
शिविरमा ३० वटा घरपालुवा कुकुरलाई रेबिज भ्याक्सिन लगाइएको छ । त्यस्तै, दुई सय जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको छ ।
विकट र दुर्गम वस्तीका नागरिकलाई गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र पुग्न धेरै खर्च लाग्ने भएकाले कर्मचारीको टिम नै टोलटोलमा पुगेर सेवा दिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको उनले बताए ।
अध्यक्ष गुरुङले सबै वडा र टोलमा शिविर सञ्चालन गर्ने बताए । शिविरमा गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत यादव राउतसहित सबै शाखाप्रमुखहरु सहभागी थिए ।