इलाम-२ मा साझा उम्मेदवार बनाउने पहिचान पक्षधरको निर्णय

  नयाँ बुलन्द
833 Shares

सुनसरी : प्रदेश नम्बर १ पुनः नामकरण समितिले इलाम क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पहिचान पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । प्रदेशको नाम कोशी राखेपछि आन्दोलनरत पहिचान पक्षधरको सुनसरीको धरानमा बसेको दुईदिने बैठकले इलाममा हुने उपनिर्वाचनमा पहिचान पक्षधरका तर्फबाट साझा उम्मेदवार उठाउने निर्णय गरेको हो ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमाले उपाध्यक्ष सुभासा नेम्वाङको मृत्यु भएपछि सो क्षेत्र रिक्त रहेको छ । धरानमा सम्पन्न बैठकले १० वटा निर्णय गर्दै ‘कोशी’ नामकरणविरुद्ध कालो दिन मनाउन फागुन १७ गते प्रदेश १ मा आमहडताल गर्ने निर्णय गरेको छ ।

साथै, बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री र सभा सदस्यलाई कालो झन्डा प्रदर्शन लगायतका पूर्वघोषित विरोध कार्यक्रमलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

यस्तै, सरकारी तथा गैरसरकारी कार्यालयहरुमा ‘कोशी’ नाम लेखिएको बोर्ड, लेटर प्याड, स्ट्याम्प राखिएको चलाइएको भए सम्बन्धित कार्यालय प्रमुखलाई हटाउन अनुरोध गर्ने, नहटाए पहिचानको लागि युवाको केन्द्रीय, जिल्ला, स्थानीय समिति र संघर्ष समितिको स्थानीय तहले हटाउने र मेटाउने कार्य माघ १३ देखि फागुन १० गते गरिसक्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिचानवादी जातीय संघ, संगठनहरूमा रहेर पहिचान विरोधी काममा संलग्न हुनेलाई सम्बन्धित संघसंगठनहरुले कारबाही गर्नुपर्ने पनि निर्णय बैठकले गरेको छ ।

साथै, बैठकले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानप्रति प्रतिबद्धता जनाउँदै वर्तमान संविधानको रक्षा, सङ्घीय गणतन्त्रलाई कार्यान्वयन गर्न वर्तमान पार्टीहरूका नेताहरूले नसक्ने परिस्थितिमा वा रक्षा गर्न नचाहेमा निकट भविष्यमै तेस्रो जनआन्दोलनको नेतृत्व गर्दै, देशैभर माहौल सिर्जना गर्न तयारी गर्ने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा इलाम जेलमा पुर्पक्षका लागि थुनामा रहेका आशिष साँबा लिम्बूको रिहाइको पहल र घटनाको अध्ययन गर्न नेपाल जनमुक्ति पार्टीको महासचिव पदम जवेगुको संयोजकत्वमा ३ सदस्यीय टोली गठन गरेको छ । टोलीमा जसपाका टुपेन्द्र येक्तेन र किरात राई यायोख्खा इलाम जिल्ला अध्यक्ष पुष्पा राई सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार