मानेभञ्ज्याङ : ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा आयोजिता अन्तरप्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ ।
आज (शुक्रबार) सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङ गाउँपालिकालाई २-१ गोलको झिनो अन्तरले रोक्दै माङसेबुङले उपाधिमाथि कब्जा जमाएको हो ।
जितेसँगै माङसेबुङले नगद पाँच लाखसहित अढाई तोला सुन र दुई सय तोला चाँदीबाट निर्मित ट्रफी हात पारेको छ । उपविजेता बनेको आयोजक मानेभञ्ज्याङले नगद तीन लाखसहित ट्रफी रक्षा गरेको छ ।
फाइनलमा आफ्ना खेलाडीलाई हौसला दिन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, वडा नं. ४ वडाध्यक्ष नवीन लिम्बू, वडा नं. ६ का वडाध्यक्ष प्रदीप साङपाङ राईलगायत मानेभञ्ज्याङ पुगेका थिए ।
मानेभञ्ज्याङ गाउँपालिकाको आयोजनामा गत १७ पुसदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।