इलाममा बलात्कारको घटना बढ्दो

  राम योङहाङ
3.1k Shares

इलाम : इलाममा पछिल्लो समय बलात्कारका घटनामा वृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ५ महिनामा मात्र ११ वटा बलात्कारका घटना भएका छन् ।

चालू आव साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा नौ जना जबरजस्ती करणीको शिकार भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहारी नायब उपरीक्षक प्रकाश सुब्बाले जानकारी दिए । त्यस्तै, दुई जनामा हाडनातामा जबरजस्ती करणी भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामको तथ्याङ्क अनुसार ३ वर्षमा ८० जना बलात्कारको शिकार भएका छन् । जसमध्ये जना ७१ जबरजस्ती करणी, आठ जना हाडनातामा जबरजस्ती करणी र एक जना अप्राकृतिक मैथुनको शिकार भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ् छ । अपराधको तथ्याङ्क हेर्दा बालिकादेखि बृद्धासम्म बलात्कारको शिकार भएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत आव २०७९/०८० मा २९ वटा बलात्कारका घटना भएका छन् । जसमा २७ वटा जबरजस्ती करणी र दुई वटा हाडनातामा जबरजस्ती करणीको घटना भएको आव २०७८/०७९ मा २६ वटा बलात्कारका घटना भएका थिए । जसमा २५ वटा जबरजस्ती करणी र एउटा हाडनातामा जबरजस्ती करणीको घटना भएको छ ।

तस्तै, आव २०७७/०७८ मा २५ वटा बलात्कारका घटना भएका थिए । जसमा १९ वटा जबरजस्ती करणी, पाँच वटा हाडनातामा जबरजस्ती करणी र एउटा अप्राकृति मैथुनको घटना भएको प्रहरीको तथ्याङ्क छ । तीन वर्षको बलात्कारको तथ्याङ्क हेर्दा विगत आवको तुलनामा पछिल्लो आवमा क्रमश वृद्धि भईरहेको देखिएको छ ।

बलात्कार विरुद्धको बहसमा आम सरोकारवालाहरु सक्रिय छन् । बलात्कारीलाई फाँसीसम्मको सजाय दिनुपर्ने बहस पनि नभएका होइनन् । तर, इलामको तथ्याङ्कले बलात्कार र बलात्कारजन्य घटना न्युनिकरण हुन सकेको छैन ।

बलात्कारका घटना बढ्नुमा प्रविधिको गलत प्रयोगलाई दोष दिने गरिन्छ । समाजमा आपराधिक मानसिकता अझ बढेको सामाजिक अभियन्ताहरु बताउँछन् । बलात्कारपछि हत्या गरेको अवस्थामा आजिवन कैदको व्यवस्था कानूनले गरेको छ ।

मुलुकी फौजदारी संहिताको दफा २१९ को उपदफा ३ मा दश वर्षभन्दा कम उमेरकी बालिका भए सोह्र वर्षदेखि बीस वर्षसम्म, चौध वर्षभन्दा कम उमेरकी बालिका भए चौध वर्षदेखि सोह्र वर्षसम्म, सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैद सजाय हुने व्यवस्था उल्लेख छ । त्यस्तै, सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म र अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार