बिकेन माईजोगमाईका किसानको दूध, पालिकासँग हारगुहार

  नयाँ बुलन्द
147 Shares

इलाम : इलामको माईजोगमाई गाउँपालिकाका किसानले उत्पादन गरेको दूध बिक्री नहुँदा समस्यामा परेको गुनासो गरेका छन्। गाउँपालिकाले आयोजना गरेको किसानका समस्या र समाधानका उपायको छलफलमा किसानले पछिल्लो समय जटिलरूपमा देखिएको दूध बिक्री नहुने समस्या समाधान गरिदिन पालिकासँग माग गरेका छन्।

किसानले भारी लगानीमा पशुपालन गरे पनि पछिल्लो समय दूधको बजार शून्यझैँ हुँदा आफूहरू निराश हुने अवस्था आएको किसानहरुले बताए। ‘किसान दूध नबिकेर गम्भीर समस्यामा परेका छन्, यस्तो अवस्थामा स्थानीय सरकारले चासो देखाउनुपर्छ’, एक किसानले भने।

अकिसानको दूधको मूल्य घटेको मात्र नभइ डेरी र चिज उद्योगले दूधको पैसा नै दिन छाडेकाले किसान थप मर्कामा परेको किसानहरुको गुनासो छ ।

किसानमात्र नभइ उद्योगी र व्यवसायीसमेत मर्कामा परेका छन्। किसानले उत्पादन गरेको दूध नजिकैको डेरी उद्योगले किन्ने गरेको छ । डेरीले उत्पादित घिउ र छुर्पी बिक्री नभएपछि किसानलाई भुक्तानी दिन सकिरहेका छैनन्। उत्पादित दुग्धजन्य पदार्थ बिक्री नभएपछि आफूहरुसमेत मारमा परेको व्यवसायी राजेन्द्र लिम्बूले बताए।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले किसानका समस्या पालिकाले गम्भीर रूपमा लिएको जनाउँदै आफूहरूले गर्नसक्ने समाधानमा सधैँ प्रतिबद्ध रहेको बताए। ‘किसानका सयौं समस्या छन्, पहिलो कुरा कृषि उत्पादनमै समस्या छ, त्यसपछि उत्पादित वस्तुको बजार समस्या झन् जटिल छ’, अध्यक्ष थेवेले भने, ‘स्थानीय सरकारले गर्नसक्ने काममा हामी सधैँ तत्पर छौँ, प्रदेश र संघीय सरकारसँग लैजानुपर्ने किसानका समस्यालाई पनि सहजीकरण गरिरहेका छौँ, किसानका तर्फबाट हामीले माग राखिरहेका छौँ।’

इलाममा निजी क्षेत्रले दैनिक ५३ हजार लिटरको हाराहारीमा दुग्ध खपत गर्दै आएको छ। निजी डेरीमा मात्रै एक हजारभन्दा बढी किसानले दुग्ध बिक्री गर्दै आएका छन्। इलामका १८ चिज कारखाना, एक सय ५० छुर्पी बनाउने उद्योग र १३ दुग्ध मिठाई बनाउने उद्योग रहेको तथ्यांक छ।

इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिकटन दुग्ध उत्पादन हुने गरेको छ। होलिस्टिन, जर्सी गरी इलाममा ३३ हजार तीन सय ७१ उन्नत जातका गाई पालिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार