इलाम : बहुमुल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष बढेपछि किसान उत्साहित भएका हुन् ।
गत वर्ष मुस्किलले प्रतिमन अर्थात् ४० केजी रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका-१ का किसान हेमकुमार राईले बताए ।
‘विगतका वर्षहरुमा हामीले चिराइतो प्रतिमन रु आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गर्दथ्यौं । अहिले रु ५४ हजमारमा बिक्री भइरहेको छ । यो एक दशकयताकै उच्च मूल्य हो’ उनले भने, ‘यसले व्यावसायिक चिराइतो खेती गदै आएका हामी किसानलाई उत्साहित बनाएको छ ।’
केही वर्षयता मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले अप्रत्याशित मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् ।
मूल्य बढेसँगै व्यवसायीहरु चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँगाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताए ।
‘गतवर्ष मूल्य नआएका कारण धेरैको चिराइतो बिक्री समेत भएको थिएन । तर अहिले व्यापारीहरु किसानको घरघरमा पुगेर राम्रो मूल्यमा चिराइतो खरिद गरिरहेका छन्’ उनले भने, ‘यो मूल्य स्थीर रहिरहने हो भने यहाँका किसानले अरु काम नै गर्नुपर्दैन ।’
चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने तामाङले बताए । अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रो हुने उनको भनाई छ ।
पहिले पहिले जंगल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती पनि गर्दै आएका छन् । समुन्द्री सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसाले चिराइतो खेती गरिरहेका छन् ।
इलामको सन्दकपुर गाउँपालिकाको माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना, इङ्ला, माईजोगमाई गाउँपालिकाको प्याङ, नयाँबजार र इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायी तामाङको भनाई छ ।
साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मंसिरमा पाक्ने यसको संकलन भने मंसिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ ।
चिराइतो उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो एक मुख्य जडीबुटी हो । औषधिजन्य वनस्पतिका रुपमा रहेको चिराइतो आयुर्वेदिक, होमियोप्याथी, आम्ची तथा एलोप्याथी औषधीय पद्धतिका साथै अन्य उद्योगमा पनि प्रयोग गर्ने गरिएको छ । चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।