इलाम : इलामको सन्दकपुर गाउँपालिकाले सेवाग्राही नागरिकहरुको गुनासो लिने र सम्बोधन गर्ने उद्देश्यले नियमित रुपमा सार्वजनि सुनुवाई सुरुवात गरेको छ । सन्दकपुर गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०।०८१ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सोमबार सम्पन्न गरेको छ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सन्दकपुर गाउँपालिका-३ देउराली बजारमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा एक सय ९७ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा १६ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरीबहादुर लुङ्गेली, प्रमुख प्रशासकीय अधिकृत यादव राउत, २ नं. वडाअध्यक्ष सुनम राई, ३ नम्बर वडा अध्यक्ष लिलाबहादुर बुर्जा, ५ नम्बर वडा अध्यक्ष यज्ञबहादुर गुरुङलगायतले दिएका थिए । उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।
गाउँपालिका अध्यक्ष गुूरुङ, उपाध्यक्ष लुङ्गेली र प्रमुख प्रशासकीय अधिकृत राउतले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनीहरुले गाउँबासीहरुको सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राउतले गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत गरेका थिए ।
त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
अभिमत प्रतिवेदनमा सन्दकपुरबासीले पालिमा कर्मचारी थप गर्नुपर्ने, सेवा प्रभावमा चाडो हुनुपर्ने, राजश्वको दर घट्नुपर्ने, कृषि र पशुपालन क्षेत्रमा बजेट वृद्धि गर्नुपर्ने, पर्यटन क्षेत्रमा लगानी गनूपर्ने, पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने लगायतका सुझावहरु दिएका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो फिक्कल ९०.६ मेगाहर्ज र नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेजबाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
कार्यक्रम सन्दकपुर गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको हो ।
कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
फोटोहरु :