कृषि कर्ममा रमाउँदै पूर्वगाउँपालिका अध्यक्ष जितबहादुर राई

  राम योङहाङ
1k Shares


इलाम : इलामको माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितबहादुर राईलाई कहिल्यै फुर्सद छैन । गाउँपालिका अध्यक्ष भएका बेला बिहानदेखि रातीसम्म जनताको काममा व्यस्त हुने राई हिजोआज पनि त्यतिकै व्यस्त छन् ।

फरक यतिमात्र छ, पहिले जनताको काममा मात्र तर, अहिले आफ्नो र जनताको दुवै काममा । राई आजकल विहान बेलुका गाईवस्तु स्याहारसुसारमा व्यस्त रहन्छन् । दिउँसो कृषि क्षेत्रमा काम गरी बचेको समय जनताको सेवामा समर्पित हुन्छन् ।

राईको दैनिकी माईजोगमाई गाउँपालिका २ मा रहेको ‘जोरकटेरी कृषि फार्म’ मा बित्ने गरेको छ । उनले पशुतर्फ व्यावसायिक गाईपालन गरेका छन् भने कृषितर्फ आलु, मकै र किवी खेती विस्तार गरेका छन् । ‘जोरकटेरी कृषि फार्म’ अहिले चार माउ गाई लैनो गाई छ । बिहान बेलुका गोबर सोहोर्नेदेखि घाँस काट्ने र दूध दुहुनुमा नै उनको समय बित्ने गर्दछ ।

त्यस्तै उनले ८ रोपनी क्षेत्रफल जग्गामा परम्परागत आलु र मकै खेती गर्दै आएका छन् । गतवर्षदेखि थप ६ रोपनी क्षेत्रफल जग्गामा किवी खेती समेत विस्तार गरेका छन् । उनको बगानमा ७० झ्याङ किवी हुर्कदैंछ । उनले आलु, मकै र दूध बिक्रीबाट लाखौं आम्दानी गर्दै आएका छन् ।

उत्पादन गरेको आलु खरिद गर्न व्यापारीहरु बारीमा नै आउने भएकाले बिक्रीको कुनै चिन्ता छैन । यस वर्ष ९० मन आलु प्रतिमन एक हजार पाँच सयको भाउमा घरबाटै बिक्री गरेर एक लाख ३५ हजार रुपैयाँ हात पारेको उनको भनाई छ ।

उनले एकीकृत खेतीप्रणाली अन्तरगत आलुबारीमा नै मकै समेत रोप्ने गरेका छन् । आधा मकै गाईलाई खोले खुवाउने र आधा बिक्री गर्ने गरेको उनको भनाई छ । त्यस्तै दुध नजिकै डेरीमा बिक्री हुने भएकाले झनै सहज भएको बताउँछन् । दैनिक २५ लिटरभन्दा बढी दुध बिक्रीबाट मासिक ४० हजार भन्दा बढी कमाई हुन्छ । राईले आलु र दूधबाट आम्दानी बढे पनि किवी खेती नयाँ भएकाले लगानीमै रहेको बताए । ‘गतवर्ष मात्र किवी खेती विस्तार गरेको छु । किवीले भने उत्पादन दिन थालेको छैन’ उनी भन्छन्, ‘अर्को सालदेखि किवीले पनि आम्दानी दिन थाल्ने विश्वास छ ।’

राईले आफ्नो फार्ममा कामदार समेत राखेका छैनज् । परिवारका सदस्यले सहयोग गर्नेबाहेक सबै काममा उनी आफैं खट्छन् । गोबर सोहोर्ने, घाँस काट्ने, दुध दुहुने, कोदालो खन्ने, डोको बोक्ने, विरुवा काँटछाँट गर्नेलगायत सबै काम आफैं गर्छन् । ‘फर्मको काम भ्याएसम्म म आफैँ गर्ने रेको छु । कहिलेकाँही बिरामी पर्दा र विशेष कामले नभ्याउँदा मात्र छरछिमेकीलाई सहयोग माग्ने गरेको छु’ राई भन्छन् ।

नेपालमा राजनीति गर्ने र राजनीति गरेका मान्छेले सानातिना काम गर्न हुँदैन भन्ने गलत भाष्य निर्माण हुँदै गएको बेला अरुले पनि राईबाट केही सिक्नुपर्छ भन्ने उदाहरण बनेका छन् । २०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष हुनुभन्दा पहिलासमेत कृषिमै भएकाले जनप्रतिनिधि भइसकेपछि समेत पुरानै अवस्थामा फर्किएको उनको भनाई छ ।

कृषि र पशुपालनबाट बचत भएको समयमा राई सामाजिक कामसँगै राजनीतिमा समेत सक्रिय रहँदै आएका छन् । राई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जिल्ला सचिवालय सदस्य छन् । राजनीति र जनप्रतिनिधि पेसा नभएर सेवा भएकाले आर्थिक जीवनस्तर उकास्न र अरुलाई उदाहरणीय बन्नका लागि आफू कृषि तथा पशुपालनमा लागेको उनको भनाई छ ।

‘राजनीति सेवा हो । निस्वार्थ भावनाले गरिनुपर्छ । हाम्रोमा राजनीतिलाई पेसा बनाएर विकृति फैलिएको छ । मैले त्यसो गर्नु हुँदैन भनेर जीवन चलाउन कृषि पेसामा लागेको हुँ’ उनले भने, ‘राजनीति गर्ने मान्छे बाँच्नको लागि, परिवार पाल्नको लागि कुनै न कुनै पेशामा जोडिनुपर्छ । अनिमात्र टिक्न सकिन्छ ।’
राई २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । तर २०७९ को निर्वाचनमा भने पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका थिए ।

तर, एमालेका उम्मेद्वारसँगै चुनाव हारे । चुनाव हारेपछि भने उनले कृषि र पशुपालनमा थप समय दिन थाले । व्यावसायिक कृषि र पशुपालनलाई थप व्यावसायिक र विस्तार समेत गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार