माङसेबुङका ३८८ किसानले पाए कृषि प्रोत्साहन अनुदान

  राम योङहाङ
980 Shares

 

आफूले उत्पादन गरेको कफीको दाना सुकाउँदै माङसेबुङ गाउँपालिका-१ इलामका किसान याम कार्की । कार्कीले कफी खेतीबाट लाखौं आम्दानी गर्दै आएका छन् । तस्बिर : नयाँ बुलन्द

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले कृषि उपज उत्पादनमा प्रोत्साहन विशेष अनुदानको व्यवस्था गरेको छ । माङसेबुङले कृषि उपज उत्पादनमा वृद्धि गराउने उद्देश्यले विभिन्न ६ प्रकारका कृषि उत्पादनमा प्रत्यक्ष किसानलाई अनुदान दिने व्यवस्था गरेको हो ।

माङसेबुङ गाउँपालिकाको कृषि उत्पादन प्रोत्साहन सम्बन्धी कार्यविधि पारित गरी माङसेबुङले स्कूस, माल बाँस, केरा, पहेँली दाल, दूध र कफी उत्पादनमा किसानलाई अनुदान दिदैं आएको छ । गत आर्थिक वर्ष २०७९।०८० मा माङसेबुङ गाउँपालिकाका तीन सय ८८ जना किसानले उत्पादन प्रोस्ताहन अनुदान पाएको गाउँपालिका प्रवक्ता एवम् कृषि प्रोत्साहन कार्यक्रमका अनुमगन समिति संयोजक सुसन राईले जानकारी दिए । उनीहरुले प्रोत्साहन बापत रु ३४ लाख ४१ हजार चार सय ८ पाएको उनले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार गत वर्ष स्कूसमा ७० जना किसानले रु १५ लाख ४७ हजार, माल बाँसमा एक सय ४७ किसानले रु ६ लाख ६९ हजार चार सय र केरामा ५४ किसानले रु चार लाख १९ हजार दुई सय प्रोत्साहन रकम पाएका छन् । त्यस्तै, पहेँली दालमा ७१ किसानले रु पाँच लाख ६९ हजार पाँच सय ५४, दूधमा १२ किसानले रु एक लाख १९ हजार तीन सय ६४ र कफीमा ३४ किसानले रु एक लाख १६ हजार आठ सय ९० प्रोत्साहन बापत अनुदान रकम पाएका छन् ।

किसानले जति धेरै उत्पादन गर्छ त्यति नै धेरै प्रोत्साहन अनुदान पाउने व्यवस्था रहेको माङेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए । माङसेबुङले गाउँपालिकाले मापदण्डमा समान्य संसोधन गरेको छ । संशोधित मापदण्ड अनुसार ३० झ्याङ वा सो भन्दा बढी स्कूस रोपेका किसानलाई प्रतिझ्याङ रु पाँच सय अनुदान उपलब्ध गराउँदै आएको छ ।

३५ झ्याङ वा सो भन्दा धेरै माल बाँस रोपेका किसानलाई प्रतिझ्याङ रु एक सय उपलब्ध गराउँदै आएको माङसेबुङले ७० झ्याङ वा सो भन्दा धेरै केरा रोपेका किसानलाई प्रतिझ्याङ रु एक सय रुपैयाँ दिदैं आएको छ ।

त्यस्तै, १५० केजी वा सो भन्दा धेरै पहेँली दाल उत्पादन गरेका किसानलाई प्रतिकेजी रु २०, दैनिक १५ लिटर वा सो भन्दा धेरै दूध उत्पादन गरेका किसानलाई प्रतिलिटर रु दुई र ५० केजी वा सो भन्दा धेरै कफी उत्पादन गरेका किसानलाई प्रतिकेजी रु २० अनुदान उपलब्ध गराउँदै आएको छ ।

माङसेबुङले चालू आवका लागि कृषि प्रोत्सहान अनुदानमा ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।

माङसेबुङ कृषिमा सम्भावना बोकेको गाउँपालिका हो । झापाको दमक र विर्तामोड नजिकको दूरीमा भएका कारण त्यहाँ उत्पादित कृषि उत्पादनलाई बजारीकरण गर्न पनि सहज छ । समुन्द्र सतहबाट ५१ दशमलव ५ देखि २०२० मिटरसम्मको उचाईमा रहेको माङसेबुङको माथिल्लो क्षेत्रमा दूध र स्कूस उत्पादन हुने गर्दछ । तल्लो क्षेत्रमा दूधसँगै दाल, केरा, बाँस उत्पादन हुने गर्दछ । मध्यम क्षेत्रमा भने कफी उत्पादन हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार