ललितपुरका सिडीओ, प्रहरी प्रमुख र ईपीएस शाखा प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

  नयाँ बुलन्द
1.8k Shares

काठमाडौं : सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।

रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो ।

सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

यसअघि आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षामा कमजोरी देखिएको बताउँदै ती अधिकारीहरूलाई निलम्बनका लागि निर्देशन दिएका थिए ।

शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले उक्त कार्यालय ग्वार्कोमा प्रदर्शन गरेका थिए । त्यसक्रममा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाएका थिए ।

उक्त घटनामा एक जनालाई गोली लागेको छ भने अर्का व्यक्तिको मृत्युको कारण खुलेको छैन तर प्रत्यक्षदर्शीले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दावी गरेका छन् । त्यसघटनामा प्रहरीसहित ७ जना घाइते भएका छन् भने ७३ जनालाई पक्राउ गरिएको छ।

-दृष्टिन्युज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार