सूर्योदयमा साँझ ५ बजेपछि मात्र मदिरा सेवन गर्न पाईने

  नयाँ बुलन्द
210 Shares

इलाम : इलामको सूर्योदय नगरपालिकामा साँझ ५ बजेपछि मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । सूर्योदय नगरपालिकाको मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित भएसँगै मदिरा सेवन गर्ने समय सीमा लागू भएको हो ।

आज (शुक्रबार)  बसेको कार्यपालिका बैठकले निर्देशिका पारित गरेको सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।

दिनदाहाडै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेकाले नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको नगरप्रमुख रणबहादुर राईले बताए ।

निर्देशिकाले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचविखन गर्न निषेध गरेको छ । इजाजत विना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गरेको छ ।

मदिरा तथा सुर्तीजन्य बस्तुलाई नियमन गर्न आउँदो नगरसभाबाट ऐन बनाउन विधेयक समितिको संयोजक उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ । नगरपालिकाको १४ औं नगरसभा १० माघमा बस्दै छ ।

नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य वस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार