इलाम : इलामको सूर्योदय नगरपालिकाले लम्पी स्किन महामारीबाट मरेका पशु चौपायको क्षतिपूर्ति दिने भएको छ । सूर्योदयले पशु चौपायको राहत रकम किसानलाई दिने भएको हो ।
सूर्योदय नगरपालिकाको लम्पी स्किन महामारीबाट मरेका पशु चौपायको क्षतिपूर्ति राहत वितरण सम्बन्धी कार्यविधि पारित भएसँगै राहत दिने बाटो खुलेको हो । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा आज (शुक्रबार) बसेको आठौं कार्यपालिका बैठकले कार्यविधि पारित गरेको सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भुजेलले जानकारी दिए ।
कार्यविधि अनुसार सूर्योदयले माउ गाई मरेका किसानलाई रु २० हजार, कोरली गाई मरेका किसानलाई रु १० हजार र गोरु मरेका किसानलाई रु ५ हजार राहत रकम दिने मापदण्ड तोकिएको छ ।
लम्पी स्किन रोगबाट पशुधन क्षति भएका लाभग्राही सिफारिस गर्न आर्थिक विकास समितिका संयोजक देवेन्द्र शर्माको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिले लम्पी स्किन रोगबाट पशुधनमा क्षति भएका वास्तविक किसानको पहिचान गरेर राहतको लागि सिफारिस गर्नेछ ।
लम्पी स्किन रोगबाट सूर्योदय नगरपालिकाभर सात सय ४४ गाई वस्तुको क्षति भएको थियो ।
नगरपालिकाले लम्पी स्किन रोगबाट भएको क्षतिमा राहत वितरण, खोप खरिद र चेतनामूलक कार्यक्रम गर्न रु एक करोड २५ लाख विनियोजन गरेको छ ।
नगरपालिकाले लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियानलाई सघन रुपमा सञ्चालन गर्ने समेत निर्णय गरेको छ । त्यसका लागि नगरपालिका अन्तरगत र निजी पशु प्राविधिकको परिचालन गरिने प्रवक्ता भुजेलले बताए । त्यस्तै नगरपालिकाले किसानलाई स्वस्थ रुपमा पशुपालनको तालिम समेत दिने तयारी गरेको प्रवक्ता भुजेलले जानकारी दिए ।
त्यस्तै नगरपालिकाले पशु र बालि विमामा प्रोत्साहन गर्ने भएको छ । नगरपालिकाले पशु र बालि बिमामा किसानले ब्यहोर्ने बिमा शुल्कको आधा रकम नगरपालिकाले व्यहोर्न भएको छ । बिमा प्रोत्साहनको लागि रु १० लाख विनियोजन गरेको छ । पशु र बालि बिमामा सरकारले ८० प्रतिशत अनुदान दिने गरेको छ ।