माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ रतुवाबेंसी टोलकी रिना लिम्बू बुधबार निकै खुशी देखिन्थिन् । त्यसको कारण थियो, आफ्नै टोलमा बाल विकास केन्द्र स्थापना भई उद्घाटन हुनु र आफ्नो छोराको नाम दर्ता हुनु । रिनाले बाल विकास केन्द्रमा छोरा सेसेहाङ लिम्बूको नाम दर्ता गराएकी छन् । आफुले पढ्न नपाएपनि छोरालाई धेरै पढाउन इच्छा रहेको रिना बताउँछिन् ।
छिमेकी माङ्से नेम्बाङ पनि ६ वर्षको भए । आफू कक्षा १ मा पढ्नु भन्न सक्छन् तर विद्यालयको नाम भन्न सक्दैनन्, किनकि उनी विद्यालय गएका छैनन् । नजिकै विद्यालय नभएका कारण उमेर पुगेरपनि विद्यालय जानबाट वञ्चित छन् । उनको पनि नाम दर्ता भएको छ ।
करिब १ घण्टा पैदल हिँडेर दुर्गा माध्यमिक विद्यालयको बाल विकास कक्षामा धाउँदै आएकी सरिता राईले पनि आफ्नी छोरीलाई सोही बाल विकासमा नाम दर्ता गराएकी छन् । आफ्नै टोलमा बाल विकास केन्द्र स्थापना गरी पढाउने व्यवस्था हुँदा निकै खुशी लागेको सरिता बताउँछिन् ।
रतुवाबेंसी टोलमा नाचुहाङ बाल विकास केन्द्रको स्थापना भई बुधबार उद्घाटन भएको छ । बाल विकासको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे । उद्घाटन कार्यक्रममा बोल्दै राईले त्यस क्षेत्रको विकासका लागि सक्रिय रुपमा लागिपरेको बताए । ‘बिगतमा खेलमैदानको आवश्यकता थियो अहिले पूरा भइसकेको छ’ अध्यक्ष राईले भने, ‘अब यस क्षेत्रमा पुलको आवश्यकता छ । पुल निर्माणका लागि समेत पहल भइरहेको छ ।’
भोगोलिक रुपमा अत्यन्तै बिकट रतुवाबेंशीमा करिब १२/१५ घरहरू छन् । सो क्षेत्रबाट विद्यालय पुग्न १ घण्टा पैदल लाग्ने गरेको स्थानीयहरू बताउँछन् । त्यस क्षेत्रबाट हिँड्न सक्नेहरु विद्यालय गएपनि हिँड्न नसक्ने ससाना केटाकेटीहरू घरैमा बस्छन् । तर अब गाउँमै बाल विकास केन्द्र स्थापना भएपछि बाल विकास केन्द्रमा नै भएपनि पढाउन पाउँदा रतुवाबेंसीबासीहरु सुखी भएका छन् ।
गत ७ मंसिर २०८० मा बसेको माङसेबुङ शिक्षा समितिको बैठकले रतुवाबेंशीमा बाल विकास केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । भोलिबाट दक्ष तथा अनुभवी शिक्षिकाबाट कक्षा सञ्चालन गरिने माङसेबुङ युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिए ।
कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष बिनोद नेम्बाङ, ३ नं. अध्यक्ष लक्षमुन राई जनम, ६ का अध्यक्ष प्रदिप साङपाङलगायतको उपस्थिति थियो ।