सीमा प्रशासनबाट पनि नागरिकता दिने

  नयाँ बुलन्द
196 Shares

इलाम : जिल्ला प्रशासन कार्यालय इलामबाट प्रवाह हुँदै आएको सेवा सीमा प्रशासन कार्यालय सूर्योदय नगरपालिका पशुपतिनगरबाट समेत हुने भएको छ ।

गृह मन्त्रालयले आइतबार जिल्ला प्रशासन कार्यालय इलामलाई सेवा प्रवाहको क्षेत्र विस्तार सम्बन्धमा पत्राचार गर्दै नागरिकलाई सहज हुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

मन्त्रालयले गत पुस ४ गतेको उपप्रधान तथा गृहमन्त्रालयस्तरको निर्णय अनुसार क्षेत्र विस्तार गर्ने निर्णय भएको उल्लेख गर्दै सोही अनुसार व्यवस्था मिलाउन अनुरोध गरेको हो । मन्त्रालयको पत्रचारसँगै अब सूर्योदय नगरपालिकाको ४ देखि १४ वडाका नागरिकले सीमा प्रशासन कार्यालय पशुपतनिगरबाटै सेवा पाउने भएका छन् ।

त्यहाँका बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र, प्रतिलिपि नागरिकता र नाबालक परिचयपत्र लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । स-साना कामका लागि वर्षौदेखि सदरमुकाम धाउँदै आएका सूर्योदयबासी मन्त्रालयको सेवा विस्तार सम्बन्धी निर्णय र पत्राचारसँगै खुसी भएका छन् ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले आफ्नो नगर क्षेत्रका बासिन्दाका लागि मन्त्रालयको त्यस्तो निर्णयले खुशी बनाएको बताए । ‘नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा सहजीकरण समिति बनाएर निरन्तर पहल गरिरहेको थियो । समितिको निरन्तरको प्रयासले सेवा विस्तार गर्ने निर्णय भएको छ । यस निर्णयले  खुसी बनाएको छ ।’

यसअघि सूर्योदय नगरपालकिाका १ देखि ५ वडाका बासिन्दाले मात्रै सीमा प्रशासन कार्यालयबाट सेवा पाउँदै आएका थिए । अब सूर्योदयका सबै १४ वटै वडाका बासिन्दाले त्यहाँबाट सेवा लिन पाउने भएका छन् ।

त्यस क्षेत्रका बासिन्दालाई सेवा लिन सदरमुकाम पुग्नुपर्दा भौगोलिक हिसाबले धेरै असहज भइरहेको भन्दै सूर्योदय नगरपालिकाले सीमा प्रशासन कार्यालय पशुपतिनगरबाटै सेवा विस्तारको माग गरेको थियो । सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालयको गत भदौ १८ गतेको पत्र र सिफारिस अनुसार सेवा विस्तरा गरिएको गृह मन्त्रालयको पत्रका जनाईएको छ ।

१० वटा पालिका रहेको इलाममा अन्य पालिकाका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय इलाम र देउमाई नगरपालिकास्थित इलाका प्रशासन कार्यालय मंगलबारेबाट सेवा प्रवाह भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार