जिल्लास्तीय राष्ट्रपति रनिङ शिल्ड माङसेबुङमा हुने, तयारी सुरु

  राम योङहाङ
1.6k Shares

माङसेबुङ गाउँपालिकालाई झण्डा हस्तान्तरण गरिदैं ।

इलाम : कुनैबेला विद्यालस्तरमा निकै चर्चित थियो वीरेन्द्र शिल्ड प्रतियोगिता । तत्कालिन राजा वीरेन्द्र शाहको नाममा २०३२ सालदेखि जिल्ला सदरमुकाममा प्रतियोगिता संचालन हुने गर्दथ्यो । जिल्ला शिक्षा कार्यालयले जिल्लाका खेलाडीहरुको क्षमता विकासका लागि भन्दै भलिबल, कबड्डी, एथलेटिक्स र विभिन्न रचनात्मक प्रतियोगिता संचालन गर्ने गरेतापनि माओवादी जनयुद्ध र राजा वीरेन्द्रको हत्यापछि रोकियो ।

गणतन्त्र प्राप्तिपछि २०६६ सालदेखि सोही प्रतियोगिताको नाम परिवर्तन गरेर राष्ट्रपति रनिङ शिल्डको नाममा आयोजना हुन थाल्यो । तर प्रतियोगिता राजाको पाला झैं सबै जिल्ला सदरमुकाममा मात्र सीमित भयो । नयाँ संविधान बनेसँगै संघीयता कार्यान्वयनमा गएपनि व्यवहारमा लागू नभएको भन्दै सरोकारवालाबाट तीव्र असन्तुष्टि र आलोचना भयो ।

सरोकारवालाको असन्तुष्टि सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति इलामले राष्ट्रिपति रनिङ शिल्ड जिल्लास्तरीय प्रतियोगिता कोशी प्रदेशमा पहिलो पटक सदरमुकाम बाहिर लगेको छ । सधैं इलाम सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता गत वर्षदेखि सदरमुकाम बाहिर संचालन गर्न थालेको हो ।

गत वर्ष फाकफोकथुम गाउँपालिकामा आयोजना गरेको प्रतियोगिता यस वर्ष माङसेबुङ गाउँपालिकामा संचालन गर्ने भएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगितालाई विकेन्द्रीकरण गर्ने लक्ष्यसाथ सदरमुकामबाहिर लैजाने निर्णय गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले बताए । प्रतियोगिता प्रत्येक वर्ष फरक फरक पालिकामा संचालन गर्ने सहमति भएको उनले बताए ।

१४ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा संचालन हुनेछ । जिल्ला खेलकुद विकास समितिको तर्फबाट माङसेबुङ गाउँपालिकालाई झण्डा हस्तान्तरण गरी प्रतियोगिताको तयारी सुरु गरिएको भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाँस्तोलाले बताए । प्रतियोगिता आउँदो फागुन पहिलो साता संचालन गरिने भएपनि मिति टुङ्गो लाग्न बाँकी रहेको उनले बताए ।

माङसेबुङ गाउँपालिका-२ स्थित डोलटार खेलमैदान

केन्द्र र प्रदेश सरकारबाट प्रतियोगिता आयोजनाको निर्देशन प्राप्त भएसँगै तयारी सुरु गरिएको अध्यक्ष बाँस्तोलाले बताए । ‘राष्ट्रपति रनिङ शिल्ड विद्यालयमा खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । आज उत्पादन भएका खेलाडी नै भोली देशको खेल क्षेत्रको भविष्य हो’ अध्यक्ष बाँस्तोलाले भने, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्ला जिल्लाको मात्र नभएर समग्र देशको खेलकुदको भविष्य हो । यसलाई सफला पार्न तयारी सुरु गरिसकेका छौं ।’

प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल संचालन हुनेछन् ।

प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी छनौट भएका खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका गरी नौ सयदेखि एक हजार जनाको उपस्थिती हुने अनुमान गरिएको अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

प्रतियोगितामा सम्पूर्ण खेलको नतिजा एकीकृत गरी पालिकाहरु विजेता र उपविजेता घोषित हुनेछन् । विजेता र उपविजेता टिम एम् खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताको व्यवस्थापनको काम माङसेबुङ गाउँपालिकाले गर्नेछ ।

यता माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आफ्नो पालिकामा प्रतियोगिता संचालन गर्ने निश्चित भएसँगै तयारीको चरणमा रहेको बताए । ‘पहिले पालिकास्तरीय प्रतियोगिता सक्छौं । त्यसपछि के-कति खर्च लाग्छ, हामी बैठक बसेर तयारी सुरु गर्छौं’ अध्यक्ष राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार