इलाम : आफ्नो पतिको निधन भएपछि एकल महिलाले संघीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने केही व्यवस्था छैन ।
तर इलामको देउमाई नगरपालिकाले त्यस्ता पुरुषका लागि समेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित पुरुष, पत्नीसँग सम्बन्ध विच्छेद भई विवाह नगरेको ६० वर्ष उमेर पुगेको पुरुष र पत्नीको मृत्यू भई अर्को विवाह नगरेको ६० वर्ष उमेर पुगेको पुरुषलाई एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।
देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरण सम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९।०८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए ।
चालू आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको संख्या १० जनाले घटेको छ । चालू आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालू आवमा एकल पुरुष भत्ताका लागि २८ लाख विनियोजन गरेको छ ।
एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सुर्य पोख्रलले बताए । ‘संघीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ । हामीले एकल पुरुषलाई पनि भत्ता दिन थाल्यौं’ नगरप्रमुख पोख्रेलले भने, ‘यसले एकल महिला र एकल पुरुष दुवैलाई जीवन सहज बनाउन थोरैभएपनि सहयोग मिलेको छ ।’
त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेश्रो लिङ्गीलाई भत्ता दिदैं आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक एक हजार र तेश्रो लिङ्गीलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ ।
गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले १० लाख ५६ हजार पाएका छन् ।
चालू आवमा भने गत वर्षको तुलनामा २ जना थप भएको छ । चालू आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालू आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि १० लाख विनियोजन गरेको छ ।
तेश्रो लिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तनले बताए ।
यसैगरी ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई मासिक पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा ८१ जना ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिले चार लाख ४६ हजार पाएका छन् ।
चालू आवमा भने १० जना थप भएको छ । चालू आवको पहिलो त्रैमासिकमा ९१ जना ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिले एक लाख ३६ हजार पाँच सय भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालू आवमा ‘ग’ श्रेणीका अपाङ्गता भएका व्यक्तिलाई भत्ताका लागि पाँच लाख विनियोजन गरेको छ ।