इलाम : दमक-चिसापानी (फाल्गुनन्द मार्ग) निर्माण कार्यको चौतर्फी आलोचना पछि सर्वपक्षीय वैठक सम्पन्न भएको छ ।
निर्माण कार्यमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै माङसेबुङ गाउँपालिका इलामले तीन महिना अघि जिल्ला प्रशासन कार्यालय इलामलाई समन्वय गराउन पत्रचार गरेको थियो।
गाउँपालिकाले पत्रचार गरेको तीन महिनापछि जिल्ला प्रशासन कार्यालय इलामले सर्वपक्षीय वैठक बोलाएपछि सोमबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा वैठक सम्पन्न भएको हो ।
जिल्लाका राजनैतिक दल , सन्चारकर्मी एबम सरोकारवाला सहभागी वैठकमा निर्माण कम्पनीद्वय लुम्बिनी-गणपति जे.भी. काठमाण्डौं र महालक्ष्मी किरातेश्वर जे.भी. सुकेधाराका प्रतिनिधिलाई सहभागिहरुले निर्माण कार्यको ढिलासुस्तीबारे चर्को प्रश्न र गुनासा राखेका थिए।
निर्माण कम्पनीका प्रतिनिधिले भने कोभिडको पहिलो र दोस्रो लहर नै सबैभन्दा ठूलो कारण देखाएको छ।तथापी पटक पटक म्याद थप्दा समेत काम गर्न नसकेको कमजोरी भने दुवै कम्पनीका प्रतिनिधिले स्वीकारेका छन्।
यता झापाको दमकदेखि इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग निर्माण सुरु भएको बर्शौ बितिसक्दा पनि सडक निर्माण पूरा नहुदा स्थानीय निरास छन ।
दमकदेखि घर्ती दोभानसम्म रतुवा खोला नै खोला कुदाउनुपर्ने सवारी साधन भने सडकको ट्र्याक खुलेपछि सोही ट्र्याकबाट कुदाउन थालिएको थियो ।
दमक–चिसापानी सडक (फाल्गुनन्द मार्ग) कालोपत्रेका लागि ठेक्का लागेको पनि वर्षौँ भइसकेको छ । दमकदेखि चिसापानीसम्मको ३३ किलोमिटर कालोपत्रेका लागि लागेको ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन । ट्र्याक चौडा गर्दै कालोपत्रे गर्ने काम आधा पनि नभएको हो ।
तीन वटा खण्डमा विभाजन गरेर पाँच वर्षअघि तीन वर्षमा काम पूरा गर्नेगरी ठेक्का लागेको थियो ।