फिदिम सभामा सहभागी आफ्नै कार्यकर्ताको मृत्यु भएको घटना एमालेले लुकायो

  नयाँ बुलन्द
686 Shares

काठमाडौं : नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान समापन भएको छ । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म अभियान उत्साहजनक नै रहेको एमालेले विश्लेषण गरेको छ ।

मध्यपहाडी लोकमार्गले भेट्ने बाँकी प्रदेशहरूमा अभियान सहज भए पनि प्रदेश १ प्रवेश गरेपछि भने सहज रहन सकेन । धनकुटामा अध्यक्ष केपी शर्मा ओलीमाथि मुक्का प्रहार भएको थियो । पाँचथर सभासम्म पुग्दा एक जना कार्यकर्ताको मृत्यु भएको छ ।

प्रदेश १ मा पहिचान पक्षधर नामकरणको सन्दर्भले आन्दोलित छन् । विभिन्न कारण एमाले पहिचान पक्षधरको निसानामा छ । त्यस कारण प्रदेश १ मा एमालेको अभियानले अनेक असहजता खेप्नु परेको थियो ।

पहिचानवादीको बन्द रहेता पनि शनिवार एमालेले फिदिममा राम्रो उपस्थितिका साथ सभा सम्पन्न गरेको थियो । तर, यस क्रममा भने एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । जुन घटना एमालेले लुकाएको छ ।

फिदिम सभा सम्पन्न गरेर फर्कने क्रममा फिदिम नगरपालिका ४ शान्तिपुरमा एमाले कार्यकर्ता चढेको गाडी दुर्घटना भएको थियो । त्यस क्रममा हिलिहाङ गाउँपालिका ५ बस्ने एमालेका पार्टी सदस्य ४८ वर्षका प्रेम संग्रौलाको घटनास्थलमै मृत्यु भएको थियो ।

सभामा सहभागी भएर फर्कने क्रममा दुर्घटना भई कार्यकर्ताको मृत्यु भए पनि एमालेले यस घटनालाई लुकाउन खोजेको छ । सामाजिक सञ्जालमा अति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका एमालेका कुनै पनि नेता कार्यकर्ताले संग्रौलाको निधनबारे केही लेखेका छैनन् ।

अभियान राम्रो भएको देखाउनका लागि एमालेका नेता कार्यकर्ताले आफ्नै कार्यकर्ताको मृत्यु भएको घटना लुकाउन खोजेको आरोप लाग्न थालेको हो । पार्टीको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफ्नै कार्यकर्ताको मृत्यु हुँदा पनि पार्टीले श्रद्धाञ्जलीसम्म नदिएको भन्दै एमालेको विरोध हुन थालेको छ ।

मृतक संग्रौलाको शव अहिले पनि फिदिम अस्पतालमै राखिएको छ । उनका दाजुभाइ काठमाडौंबाट जिल्ला पुग्न नसकेका कारण अन्तिम संस्कार गर्न बाँकी रहेको छिमेकीले बताएका छन् ।

उक्त दुर्घटनामा अरू पनि घाइते भएका थिए । उनीहरूको पाँचथर जिल्ला अस्पताल र केही पाँचथर बाहिरको अस्पतालहरूमा उपचार भइरहेको छ । तर, एमालेले घाइतेहरूको विवरणसमेत लुकाएको छ ।

संग्रौलाको परिवार नै माओवादी थिए

जानकारहरूका अनुसार जनयुद्धको बेला संग्रौलाको परिवार नै माओवादी थिए । बुबा भीमप्रसाद संग्रौला र केही दाजुभाइ जनयुद्धमै सामेल भएका थिए । उनको केही वर्ष अगाडि मृत्यु भइसकेको छ ।

एक छिमेकीका अनुसार मृतक संग्रौला पनि माओवादीमै थिए । तर, एमाले र माओवादी एक भएर नेकपा बनेपछि पुनः विभाजन हुँदा मृतक संग्रौला एमालेमै रहेको हुनसक्ने छिमेकीले अनुमान गरेका छन् ।

-दृष्टिन्युजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार