सिद्ध देवी मावि बन्यो चौथो पटक फाल्गुनन्द स्तरीय राष्ट्रपति रनिङ शिल्डको विजेता 

  युद्धबहादुर बोहोरा
378 Shares

पाँचथरः सिद्ध देवी माध्यमिक विद्यालय नवमीडाँडाले फाल्गुनन्द गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि हात पारेको छ । पालिका भरिका ११ सामुदायिक र दुई संस्थागत गरी जम्मा १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको खेलकुद प्रतियोगितामा ८ स्वर्णपदक जितेर सिद्ध देवी मावि विजयी बनेको हो ।

यस अघि पनि तीन पटक जीत हाँसिल गरेको यस विद्यालयले २०८० को रनिङ शिल्ड प्रतियोगितामा प्रथम बनेसंगै चार पटक उपाधि जित्न सफल बनेको हो । गत वर्षको आयोजक विद्यालय जयनारायण आदर्श मावि मेहेलबोटे प्रथम बनेको थियो भने यो वर्ष ६ स्वर्णपदकसहित दोस्रो स्थान मात्रै हात पार्न सफल भयो । यसैगरी ५ स्वर्णपदक प्राप्त गर्दै आयोजक घुर्विसे पञ्चमी माविले तेस्रो स्थान हाँसिल गरेको छ । प्रतियोगिताका विजेता विद्यार्थी तथा विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङले कप,मेडल,प्रमाणपत्र ,करकट्टीसहित प्रथमलाई १८ हजार,दोस्रोलाई १५ हजार र तेस्रोलाई १२ हजार नगद पुरस्कार प्रदान गर्दै सहभागी विद्यालय, आयोजक,विजेता तथा उपविजेताहरुलाई बधाई तथा शुभकामना दिए ।

 

मंशीर २८,२९ र ३० गते घुर्बिसे पञ्चमी माविको खेलमैदानमा संचालन भएको खेल शनिबार सम्पन्न भएको आयोजक घुर्विसे माविको प्रधानाध्यापक नरेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता संचालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण महानुभावलाई प्रअ अधिकारीले धन्यावाद ज्ञापन गरेका छन् । आगामी सातौं राष्ट्रपति रनिङ शिल्ड सिद्ध देवी माविलाई संचालन गर्न समापन कार्यक्रमबाट जिम्मेवारी समेत दिइएको छ । विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य नगेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न खेलकुद समापनको संचालन शिक्षक सुरेन्द्र प्रसाद लामिछानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार