उर्लाबारीदेखि मिक्लाजुङ हुँदै इलामको तोरीबारीसम्म पुग्ने सडक बनाउन बाह्र वर्ष

इलाम : मोरङको उर्लाबारीदेखि मिक्लाजुङ हुँदै इलामको तोरीबारीसम्म पुग्ने साढे १२ किलोमिटर सडक बनाउन बाह्रै वर्ष लागेको छ । १२ दशमलव ४ किलोमिटर दुई लेनको पक्की सडक निर्माणका लागि २०६८ सालमा  प्रेम मल्लले २०७१ जेठ सम्ममा निर्माण गरिसक्ने सर्तमा ८ करोड ९८ लाख २७ हजारमा ठेक्का लिएका थिए ।

ठेक्का लिएको केही समय काम गरेर ठेकेदार फरार थिए । मिक्लाजुङ गाउँपालिकाका उपप्रमुख दिनेश पौडेलले जनप्रतिनिधिको दबाबमा बल्लबल्ल सडक बनेको बताए ।

‘फरार ठेकेदारलाई जनप्रतिनिधिले खोजेर ल्याएर बाटो बनाउन लगाएको हो,’ उनले भने, ‘उर्लाबारीका नगरप्रमुख गंगा खरेल, मिक्लाजुङ वडा ७, ८ र ९ का अध्यक्ष सुशीलराज चौहान, पूर्ण कुँवर र हेमन्त दाहाललगायतका हामी ठेकेदार खोज्दै काठमाडौंसम्म पुग्यौँ,’ पौडेलले भने, ‘ठेकेदारलाई खोजेर ल्याएपछि धमाधम काम भएर निर्माण कार्य बल्ल पूरा भयो ।’

उक्त सडकखण्ड तत्कालीन पूर्वाञ्चल डिभिजन सडक कार्यालय विराटनगरले ठेक्का लगाएको थियो । यो सडक खण्डको निर्माण कार्य २०२८ सालमा तत्कालीन शिक्षामन्त्री नरेन्द्र प्रधानले शिलान्यास गरेपछि सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार