पोखरा : लगातार ५ वटी छोरी जन्माएकी स्याङ्जा स्थित गल्याङ ३ की मिना दर्जीले छैटौँ सन्तान पनि छोरी नै जन्माइन् । छोरा पाउने आसमा उनले यतिधेरै सन्तान जन्माएकी हुन् ।
मिना जस्तै छोरा पाउने आसमा त्यहाँका धेरैले पटक पटक छोरीलाई जन्म दिइरहेका छन् । छोरा नहुँदा समाजमा हेलत्व हुने सोच कतिपय दम्पतीमा अहिले पनि कायम छ । समाजमा अझै कायम त्यस्ता सोच हटाउनका लागि सरकारले विभिन्न अभियान र कार्यक्रमहरु ल्याइरहेको छ । गल्याङ नगरपालिकाले नगरभित्र जन्मिएका छोरीलाई ५ हजार दिने घोषणा गरेको छ ।
गल्याङले चालू वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत उक्त अभियान थालेको हो । ‘नगरकी छोरी’ कार्यक्रम अन्तर्गत हरेक महिलाले छोरी जन्माए छोरीको खातामा रकम जम्मा गरिने उपमेयर हेमा न्यौपानेले जानकारी दिइन् ।
चालू वर्षमा जन्मिएका सबै छोरीको बैङ्कमा खाता खोलिदिने र पैसा जम्मा हुने उनको भनाई छ । ‘छोरीको प्रोत्साहनका लागि कार्यक्रम सञ्चालन गरेका हौँ । यो कार्यक्रम अब निरन्तर जान्छ,’ उनले भनिन् ।
छोरी जन्मिएको खबर पाएपछि पालिकाका जनप्रतिनिधि र बैङ्कका कर्मचारी घरमै पुग्छन् ।
घरबाटै जन्म दर्ता हुन्छ, घरमै बैंक खाता खोलिन्छ । छोरीहरू प्रति विभेद बढ्दै गएपछि न्यूनिकरणका लागि नवजात शिशुको नाममा रकम जम्मा गरिएको हो । यसरी पालिकाले जम्मा गरिदिएको रकम छोरीको उमेर १८ वर्ष नपुग्दासम्म निकाल्न मिल्दैन । छोरीको नाममा बचत गर्ने बानीको विकास हुने न्यौपानेको भनाई छ ।
‘नगरपालिकाले त टोकन मनी जम्मा गरिदिएको हो । परिवार र अभिभावकले पनि १८ वर्षसम्म बैङ्कमा रकम राखिदिँदा निकाल्ने बेलामा धेरै पुग्छ,’ उनले भनिन्, ‘पछि अध्ययनमा पनि यही रकमले सहयोग हुन्छ ।’ नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोसिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा भइरहेको छ ।
गल्याङ भन्दा पहिले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यो कार्यक्रम लागू भैसकेको छ । दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि निर्वाचित भएकै दिन निर्णय भयो, ‘पालिकामा जन्मिएका सबै बालिकाको खातामा ५ हजार नगद जम्मा गरिदिने ।’
उक्त निर्णयपछि हालसम्म पालिकाले ७८ जना बालिकालाई ५ हजारका दरले नगदै जम्मा गरिदिएको छ । ‘छोरीलाई हेंला गर्ने समाज अहिले पनि छ । छोरी जन्माउने आमालाई गर्ने दुर्व्यवहार अहिले पनि उस्तै छ,’ उपाध्यक्ष सीता अधिकारी भन्छिन्, ‘छोरी जन्मिँदा गर्व गर्न सक्ने बनाउन यस्तो निर्णय गरिएको हो । केही हदसम्म हामी हाम्रो उद्देश्यमा पुगेका पनि छौँ ।’
गत आर्थिक वर्षमा ६४ जना र चालू वर्षको हालसम्म १४ जनाले यो सुविधा लिएका छन् । छोरी जन्माउन प्रोत्साहनका लागि पालिकाले सबै छोरीलाई नगद दिने निर्णय गरेको उनले सुनाइन् ।
‘यसका दुई वटा उद्देश्य छन् । एउटा छोरी जन्मिँदा पनि घरमा खुसीयाली छाओस् र अर्को बैंकिङ कारोबारमा प्रोत्साहन मिलोस्,’ उनी अघि भन्छिन्, ‘सबै आमाले बालिका खाता खोलेका छन् । सोही खातामा पालिकाले जम्मा गरिदिन्छ ।’
अहिलेसम्म ३ लाख ९० हजार निकासा गइसकेको पालिकाले जनाएको छ । ‘३५ दिनभित्र पालिकामा सम्पर्क गर्नुपर्छ । त्यसपछि समयमै जन्म दर्ता हुन्छ, बैंक खाता खोलेपछि खातामा पठाइन्छ,’ अधिकारीले भनिन्, ‘यो कार्यक्रमपछि पालिकामा छोरीलाई सम्मान दिन थालेका छन् । गर्भमै हुने हत्या रोकिएको छ ।’ यो वर्ष बालिकाको खातामा जम्मा गर्न ५ लाख रुपैयाँ विनियोजन भएको छ ।
गाउँपालिकाले घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न ठाउँ ठाउँमा बर्थिङ सेन्टर पनि चलाएको छ । सार्दिखोला, घाचोक र भेडावारीमा बर्थिङ सेन्टर सञ्चालन भइरहेको महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले जानकारी दिइन् ।
उनका अनुसार पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई नेपाल सरकारले दिने भन्दा ३५ सय रुपैयाँ प्रोत्साहन रकम थप वितरण हुन्छ । ‘उपाध्यक्षसँग गर्भवती महिला कार्यक्रम मार्फत पालिकाका स्वास्थ्य संस्थामा सुत्केरी हुनेले थप रकम पाउँछन्,’ उनले भनिन्, ‘बेलाबेलामा घुम्ती स्वास्थ्य शिविर पनि आयोजना गर्छौँ । निःशुल्क भिडियो एक्सरे सेवा दिएका छौँ ।’ अन्य पालिकाहरूले पनि गर्भवती सुत्केरी महिलाको स्याहारमा धेरै कार्यक्रमहरू घोषणा र कार्यान्वयन गरिरहेका छन् ।
-प्रकाश ढकाल/रातोपाटी