नेपाली चिज भण्डारणमै थन्कियो

  नयाँ बुलन्द
420 Shares

इलाम : भारतीय चिज नेपाली बजारमा भित्रिन थालेपछि नेपालको चिज उद्योग र भण्डारणमै थन्किएको छ । भारतीय चिज नेपाली बजारमा बिक्री हुँदा नेपाली चिज उद्योग र भण्डारणमै थन्किन थालेको हो । दूधको मूल्य वृद्धिसँगै चीजको मूल्य वृद्धि गर्न बाध्य भएका चिज उद्योगहरु भारतबाट आएको सस्तो चीजसँगै प्रतिस्पर्धा गर्न नसक्दा संकटमा पर्न थालेका छन् ।

इलामको सूर्योदय नगरपालिका-३ स्थित लक्की डेरी उद्योगमा उत्पादित चिज साउनयता बजारमा बिक्री भएको छैन । साउन १ गतेदेखि उत्पादन भएको चिज बिक्री नहुँदा उद्योगको भण्डारणमा अहिले १५ हजार किलो तयारी चिज थन्किएको छ । त्यसको प्रत्यक्ष असर किसानसम्म पर्न थालेको छ ।

‘सधैं चिजको माग मुख्यगरी भदौदेखि मङ्सरसम्म हुने गर्दथ्यो । तर यसपटक चिज नबिकेर भण्डारणमै थन्क्याउन बाध्य छु’ सञ्चालक तुलु तामाङले भन्छन्, ‘उत्पदित सामग्री बेच्न नपाएपछि किसानलाई दूधको मुल्य समेत तिर्न सकिएको छैन । उद्योग नै बन्द हुने स्थिति भईसक्यो ।’

उता सन्दकपुर गाउँपालिका-३ को शेर्पा डेरी उद्योगमा उत्पादन भएको ८ हजार किलो तयारी चिज पनि भण्डारणमा नै थन्किएको छ । दैनिक १५ सय दूध प्रशोधनबाट चिज उत्पादन भएपनि बजारमा चिजको माग नहुँदा उद्योगी समस्यामा परेका छन् ।

लक्की र शेर्पा डेरी उद्योग मात्रै होइनन्, इलामका धेरैजसो चिज उद्योगमा उत्पादित चिज बिक्रि नहुँदा संकटमा परेका छन् । अवैध रुपमा भारतबाट चीज नेपाल भित्रिएका कारण नेपाली चीजको माग बजारमा १५ प्रतिशत मात्रै रहेको तामाङ बताउँछन् ।

नेपालका उद्योगमा उत्पादित अर्गानिक चिजको मुल्य प्रतिकिलो १ हजार ५० रुपैयाँ रहेको छ । भारतमा उत्पादित चिज भन्सार छलेर ल्याउने गरेका कारण अहिले ८ सय ५० रुपैयाँमा बिक्री भइरहेको हो । जसका कारण नेपाली उद्योगहरुमा उत्पादित चिज बिक्रि नहुँदा धेरै उद्योगीहरुले किसानलाई दूधको भुक्तानी दिन समेत सकेका छैनन् ।

खुला सीमानाका कारण भारतीय चिज नेपाली बजारमा प्रशस्त पाइने गरेको छ । भारतमा दूध उत्पादन र उद्योग संचालनमा सरकारले सहुलियत ऋण प्रदान गरेकाले चिज उत्पादन लागत कम हुने गरेका कारण सस्तोमा भारतीय चीज बिक्रि हुँदै आएको सूर्योदयका व्यवसायी महेन्द्र प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार