इलाम : किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७० औं जन्मोत्सव विभिन्न कार्यक्रमसाथ मनाईएको छ ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका-५ स्थित माङसे्बुङमा विभिन्न कार्यक्रम गरी लिङदेनको ७० औं जन्मोत्सव मनाइएको हो । जन्मोत्सवको अवसरमा आत्मानन्द कप खेदकुद प्रतियोयोगिता, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको गरिएको छ ।
८ देखि १७ मंसिरसम्म आत्मानन्द कप खेदकुद प्रतियोयोगिता संचालन गरिएको थियो । आत्मा-पवित्र खेलकुद विकास समितिको आयोजनामा संचालित खेलकूदमा फुटबल, भलिबल, म्याराथुन, धनुषाकाँण, छेलोलगायतका खेल संचालन गरिएको थियो ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुनद किरातीबाट धर्मगुरु लिङदेनको जन्मोत्सव समारोह उद्घाटन, शुभकामना आदानप्रदान, धर्मगुरुद्वारा प्रवचन तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा शुभकामना दिदैं मन्त्री किरातीले आत्मानन्द लिङ्देन बसेपछि माङसेबुङ क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको उल्लेख गर्दै माङसेबुङ क्षेत्रलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको बताए । माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्दै मन्त्री किरातीले माङसेबुङ क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए ।
पहिलो पटक शाकाहारी गाउँ माङसेबुङ आउनुभएका मन्त्री किरातीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिए । “नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ । यी विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ”, उनले भने, “माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र हो । यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।”
वक्ताले राष्टिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान धर्मगुरु आत्मानन्द लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां गरे । वक्ताहरुले किरातीहरुको सुधारका लागि महागुरु र वर्तमान गुरुको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरुले देखाएको विश्व शान्ति र मानव एकताको बाटोलाई सबैले पच्छ्याए नेपालमा स्थायी शान्ति कायम हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रममा मालाङ, थेबालाङ, धाननाच (या:लाङ), केलाङ (च्याब्रङ नाच), साकेला, येबालाङ, पालाम, ख्याली, हाक्पारे समेत प्रस्तुत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा माङसेबुङ इक्लाको फाइनल अडिसन संचालन गरिएको थियो । माङसबेुङ इक्लाको उपाधि दिनेश योङहाङले जितेका छन् । उनले नगद ४० हजार रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।
किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको थियो ।
माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन ।