आज किरात धर्मगुरु लिङदेनको ७० औं जन्मोत्सव, उद्घाटन गर्न मन्त्री किराती माङसेबुङ आउँदै

  नयाँ बुलन्द
322 Shares

इलाम :  आज (सोमबार) १८ मंसिर, किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सव मनाइदैछ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा विभिन्न कार्यक्रम गरि जन्मोत्सव मनाइदैछ ।

माङसेबुङ गाउँपालिक-५ माङसेबुङ (लारुम्बा) मा दिउँसो १ बजे किरात धर्मगुरु लिङदेनको ७० औं जन्मोत्सव उद्घाटन, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध सांस्कृतिक कार्यक्रमको तय गरिएको छ ।

मंगलबार धर्मगुरु लिङदेनबाट आर्शीवचन, मिक्तोक (उपहार) वितरण, संस्थागत धन्यवादपत्र वितरण, पुस्तक/पुस्तिका विमोचन, सहित्यिक तथा साँस्कृतिक कार्यक्रम तय भएको छ । बुधबार माङगेन्ना चामल वितरणसँगै विदाई गरिने माङेन्ना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले जानकारी दिए ।

हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने जन्मोत्सवमा यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आउने भएका छन् । धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन किराती पहिलो पटक माङसेबुङ आउन लागेका हुन् ।

माङसेबुङ गाउँपालिका २ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।

धुम्रपान मध्यमान निषेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिका-३ र ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा जाँडरक्सी, मासुमंश, धुम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत निषेधित छ ।

माङसेबुङर माईमा सार्वजनिक विदा

यसैबीच धर्मगुरु लिङदेनको जन्मोत्सवमा इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिाले सोमबार सार्वजनिक विदा दिएको छ ।

दुवै पालिकाले सूचना प्रकाशित गरी १८ मंसिरमा धर्मगुरुको जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको जनाएका छन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार