संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती माङसेबुङ आउँदै

  नयाँ बुलन्द
231 Shares

इलाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती सोमबार इलामको माङसेबुङ आउने भएका छन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन मन्त्री किराती माङसेबुङ आउन लागेका हुन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने तय गरिएको भएपनि विदेश भ्रमणबाट फर्कन ढिलाई भएकाले मन्त्री किराती आउने भएको मूल समारोह समितिका सचिव शक्ति साँवाले जानकारी दिए ।

‘हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरूको उपस्थिति हुने जन्मोत्सवमा यस वर्ष प्रधानमन्त्री आउने तय भएको थियो । तर विदेश भ्रमणबाट फर्कन ढिलाई भएका कारण उहाँ नआउने हुनुभयो’ सचिव साँवाले भने, ‘प्रधानमन्त्री प्रचण्ड नआउने भएपछि मन्त्री किराती आउने निश्चित भएको हो ।’

विगतका वर्षझैँ यसवर्ष पनि माङसेबुङ गाउँपालिका-५ माङसेबुङ (लारुम्बा) मा विविध कार्यक्रमसहित लिङदेनको जन्मोत्सव भव्य रूपमा मनाउने तयारी छ । जन्मोत्सवका अवसरमा सञ्चालित आत्मानन्द कप फुटबल प्रतियोगिताको फाइनल आइतबार सकिएको छ । प्रतियोगिताको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको छ । माङसेबुङ गाउँपालिकालाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि हात पारेको हो ।

सोमबार लिङदेनको ७० औं जन्मोत्सव तथा धर्मगुरुमा साँवा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोह-२०८० समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै सावायेहाड नुमाडगेन्ना सेवा (माडगेन्ना सेवा मुन्धुम ७० जना माङसेवासाबा माङसेवासामाबाट वाचन), साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुड इक्ला गायन प्रतियोगिता सञ्चालन हुनेछन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेन

त्यस्तै मंगलबार धर्मगुरु र धर्मगुरुमाबाट माङ आशीर्वचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद-पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माडगेन्ना चामल वितरणपछि साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुड इक्ला गायन प्रतियोगिता सञ्चालन हुनेछन् । बुधबार माङगेन्ना चामल वितरणसँगै विदाईको कार्यक्रम तय भएको छ ।

माङसेबुङ गाउँपालिका-२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मंसिर २०११ मा जन्मिएका लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरूले मान्ने गरेका छन् ।

किरात धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती हुने गर्दछ ।

धूम्रपान मध्यपान निशेधित क्षेत्र

माङसेबुङ क्षेत्र धुम्रपान मद्यपान निषेधित क्षेत्र पनि हो । माङसेबुङ गाउँपालिकाको वडा-३ र ५ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धुम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको छ ।

सार्वजनिक विदा

यसैबीच किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवमा माङसेबुङ गाउँपालिकाले सोमबार ९१८ मंसिर० सार्वजनिक विदा दिएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा सोमबार (१८ मंसिर) मा  माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जनाएको छ ।

धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो ।

पहिलो कार्यकालमा गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले धर्मगुरुको जन्मोत्सवमा हरेक वेर्ष १८ मंसिरमा दिन सुरु गरेका थिए । दोस्रो कार्यकालमा समेत निरन्तरता पाएको छ ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ गाउँपालिका-५ मा १८ मंसिरमा बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ । यो निर्णयलाई किरात धर्मावलम्बीहरूले स्वागत गरेका छन् ।

माङसेबुङको परिचय हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार