आत्मानन्द कप फुटबलको उपाधिका लागि माङसेबुङ र तिजोक पाँचथर भिड्दै

इलाम : इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधिका लागि माङसेबुङ गाउँपालिका र तिजोक युवाक्लब पाँचथर प्रतिष्पर्धा गर्दैछन् ।

आइतबार माङसेबुङ-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने फाइनल खेलमा माङसेबुङले तिजोक पाँचथरको सामना गर्नेछ । तिजोक अघिल्लो संस्करणको उपविजेता हो । अघिल्लो संस्करणमा तिजोक छथर गाउँपालिका तेह्रथुमसँग पराजित भएको थियो ।

यस संस्करणमा तिजोकले विदेशी टिम मानेभञ्ज्याङ पोर्टिङ क्लब दार्जिलिङ भारत विरुद्ध ३-० गोलको सहज जितमा फाइनलको यात्रा तय गरेको हो । माङसेबुङ गाउँपालिकाले सिरजिसंगा स्पोर्टिङ क्बल मोरङलाई २-० को अन्तरमा पराजित गर्दै अन्तिम दुईमा यात्रा पक्क गरेको हो ।

अघिल्लो संस्करणमा उपविजेतामा चित्त बुझाएको तिजोकले यस पटक उपाधि चुम्ने रणनीतिका साथ मैदान प्रवेश गर्दैछ । उता माङसेबुङले पनि पहिलोपटक उपाधि चुम्दै नयाँ रेकर्ड बनाउने दाउका साथ मैदानमा उत्रदैछ ।

खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच समेतले नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मापवित्र हक्तात यक्चुमको आयोजनामा ८ मंसिरदेखि संचालित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार