किरात गोल्डकप : आयोजक पाँचथर सेमिफाइनलमा

  नयाँ बुलन्द
560 Shares

पाँचथर : आयोजक पाँचथर जिल्ला फुटबल क्लब फिदिममा सुरु भएको प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा प्रतिस्पर्धी मितेरी फुटबल क्लव तेह्रथुमलाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक टिम अन्तिम चारमा प्रवेश गरेको हो ।

मध्यान्तर पूर्व गोलरहित बराबरी खेलेको आयोजकले दुवै गोल मध्यान्तरपछि गर्यो । आयोजकका शुक्रराज राईले ४३ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ६० औं मिनेटमा पुन आयोजककै विशाल भण्डारीले गोल गरी टिमलाई २-० को जित निश्चित गराए । बेस्ट प्लेयर अफ दि म्याच आयोजका भण्डारी घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।

ए डिभिजनमा अनुभव बटुलिसकेका खेलाडीहरुको बाहुलियता रहेको मितेरीले पाएका अवसहरुमा चुक्दा पहिलो खेलबाटै बाहिरियो ।

खेलमा मितेरी क्लब अन्तिम समयमा ७ जना खेलाडीमा सिमित भएको थियो । उसका विदेशी खेलाडी पेपे र ग्लोरीले रातो कार्ड खाँदै मैदान छाडेका थिए । लगातार २ खेलाडीले रातो कार्ड पाएपछि मितेरीका प्रशिक्षक, समर्थकहरु मैदानमा पसेर रेफ्रसँग विवाद गरेपछि खेल तनाबग्रस्त बनेको थियो ।

निरन्तर विवाद गरेपछि मितेरीका प्रशिक्षकलाई रेफ्रीले पहेंलो कार्ड देखाएका थिए । खेल सकिन २ मिनेट बाँकी रहेको अवस्थामा मितेरीका खेलाडीहरु मैदान छाडेका थिए । रेफ्रिले मैदान फर्कन पटकपटक अनुरोध गर्दासमेत खेलाडीहरु मैदानमा नफर्किएपछि मुख्य रेफ्रि राजु थापा मगरले खेल सकिएको घोषणा गरेका थिए ।

प्रतियोगिताको दोस्रो खेलमा आइतबार रेडहर्स क्लब इलामले बिर्तामोड युनाइटेड झापाको सामना गर्नेछ ।

प्रतियोगिताको विजेता टिमले नगद चार लाख चार हजार चार सय ४४ रुपैयाँ र उपविजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ पाउनेछन् । उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दि सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

फिदिम माविको खेलमैदानमा प्रतियोगिताको फाइनल २३ मंसिरमा हुनेछ । प्रतियोगितामा नेपाल र भारतका ख्यातिप्राप्त आठवटा टिमले भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार