पहिचानवादी कार्यकर्ता रिहा भएपछि मेची राजमार्ग बन्द फिर्ता

  नयाँ बुलन्द
378 Shares

इलाम : ताप्लेजुङ्गमा पक्राउ परेका दुई पहिचानवादी कार्यकर्ता रिहाइ भएपछि दुई दिनदेखि भएको मेची राजमार्ग र ताप्लेजुङ्ग बन्द फिर्ता भएको छ ।

पूर्व संघीय मन्त्री योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङ आएपछि आइतबार (मंसीर १०) गते भट्टराईको घरैमा कालो झण्डा प्रदर्शन तथा नारा जुलुस भएको थियो ।

सोही दिन भट्टराई चढेको गाडी जिल्ला सदरमुकाम पुग्दा ढुङ्गा प्रहारबाट क्षति भएको थियो । सोही आरोपमा पाथीभरा याङ्वरक–३ का बिपिन कङ्लिबा र आनन्द कङ्लिबा लिम्बूलाई प्रहरीले राति घरैबाट पक्राउ गरेको थियो ।

कोशी नाम खारेजी र पक्राउ परेका कार्यकर्ता रिहाइको लागि भन्दै संयुक्त संघर्ष समितिको आयोजनामा मंसीर १२ र १३ गते मेची राजमार्ग र ताप्लेजुङ बन्द भएको थियो ।

बुधबार साँझ ताप्लेजुङ संयुक्त संघर्ष समिति, जिल्ला प्रशासन, प्रहरी र विभिन्न पार्टीको सहमतिपछि पहिचानवादी कार्यकर्ताहरु रिहाइ भएका छन् । रिहाइपछि आजैबाट मेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको संयुक्त संघर्ष समितिले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

प्रदेश १ को पुननामकरणको आन्दोलन सशक्त बन्दै जाँदा भट्टराईले संघीय संसदमा राई, लिम्बू, तामाङ, मगर, गुरुङ, शेर्पालाई सामुदायिक रुपमा गालि र पहिचान पक्षधर शिल्पी, खस/आर्यहरुलाई समेत असभ्य शब्द प्रयोग गरेको पहिचानवादीको आरोप छ ।

पूर्वप्रधानमन्त्री केपी ओली, महेश बस्नेत र भट्टराईले पहिचानवादीलाई साम्प्रदायिक रुपमा गालि गरेको भन्दै कालो झण्डासहित विरोध गर्दै आएका छन् । कोशी नामको पक्षमा भोट दिने ८२ प्रदेश सभा सदस्यहरुलाई समेत कालो झण्डा प्रदर्शन गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार