इलाम : पाहुना टोली मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारत इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कपको सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा गोलबजार स्पोर्टिङ क्लब सिराहालाई ३-१ गोलको सहज जितको नतिजा निकाल्दै मानेभञ्ज्याङले अन्तिम चारमा स्थान बनाएको हो । जितसँगै मानेभञ्ज्याङले बुधबार हुने दोस्रो सेमिफाइनल खेलमा तिजोक युवाक्लब पाँचथरसँगको भेट पक्का गरेको छ ।
खेलको सुरुवातमा नै मानेभञ्ज्याङले अग्रता लिएको थियो । दोस्रो मिनेटमा नै मानेभञ्ज्याङका सुजल मुण्डाले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै टिकेन । ११ औं मिनेटमा गोलबजारका मनिष मगरले गोल गर्दै खेल बराबरीमा ल्याए । ३७ औं मिनेटमा पुन: मानेभञ्ज्याङले अग्रता लियो । मानेभञ्ज्याङका मुण्डाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको मानेभञ्ज्याङले दोस्रो हाफमा समेत उत्कृष्ट प्रदर्शन गर्यो । मानेभञ्ज्याङको तर्फबाट खेलको ५७ औं मिनेटमा श्याम मुर्मुले गोल गर्दै टिमलाई ३-१ को जिता दिलाए । ए डिभिजन लिग विजेता चर्ज ब्वाईजबाट खेलिसकेका गोलकिपर रेम्बो चौधरीको साथमा मैदानमा उत्रेको गोलबजारले दोस्रो हाफमा समेत उत्कृष्ट प्रदर्शन गर्न नसक्दा पहिलो चरणबाटै घरफर्कन बाध्य बन्यो ।
खेलको म्यान अफ दी म्याच विजेता टिम मानेभञ्ज्याङका मुण्डा घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।
मंगलबार पहिलो सेमिफाइनलमा माङसेबुङ गाउँपालिका र सिरिजंगा स्पोर्टिङ क्लब मोरङ आमनेसामने हुँदैछन् ।
विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई नगद पुरस्कारबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।