गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा जारी प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ मा माङसेबुङ गाउँपालिका र देउमाई-९ जितपुर फाइनलमा प्रवेश गरेका छन् ।
आज (आइतबार) भएको पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ रविलाई १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ उपाधिनजित पुगेको हो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा महमाई एफसीविरुद्ध १-० गोलको संघर्षपूर्ण जित निकाल्दै देउमाई अन्तिम दुईमा उक्लिएको हो ।
उपाधिका लागि सोमबार दिउँसो हुने फाइनलमा माङसेबुङ र देउमाई आमनेसामने हुँदैछन् ।
गोल्डकपका विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजना ६ कात्तिकदेखि संचालित गोल्डकपमा १६ फुटबल टिमको सहभागिता थियो ।
गजुरमुखी धाममा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आज (आइतबार) देखि मेला सुरु भएको छ । मेलाको अवसरमा गोल्डकप आयोजना गरिएको हो । मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।
साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सविना योङहाङसहितका कलाकारहरुको प्रस्तुती रहनेछ ।