आत्मानन्द कप: आज छथर तेह्रथुम र सिरिजंगा मोरङ भिड्दै

  नयाँ बुलन्द
203 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा जारी १६ औं आत्मानन्द कप फुटबल प्रतियोगितामा आज (आइतबार) डिफेन्डिङ च्याम्पियन छथर गाउँपालिका तेह्रथुम र सिरिजंगा स्पोर्टिङ क्लब  मोरङबीच प्रतिष्पर्धा हुँदैछ ।

माङसेबुङ गाउँपालिका-५ प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो ३ बजे हुने सिरिजंगाले छथरको सामना गर्नेछ । खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमबाट हुनेछ ।

यसअघि शनिबार भएको खेलमा तिजोक युवाक्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धनकुटा जिल्ला फुटबल संघलाई २-१ गोलको अन्तरमा पराजित गर्दै तिजोक पाँचथर अन्तिम चारमा प्रवेश गरेको हो ।

सुरुआतमा १ गोलले पछि परेको तिजोकले आफ्नो प्रदर्शनमा सुधार गर्दै अघिल्लो चरणमा पुग्न सफल बन्यो । उता सुरुवाती अग्रता लिएको धनकुटाले पछिल्लो समय खराब प्रदर्शन गर्दै प्रतियोगिताबाट बाहिरियो । तिजोक पाँचथर गत संस्करणको उपविजेता हो ।

पहिलो हाफको ८ औं मिनेटमा नै धनकुटाका बुद्ध चेम्जोङले गोल गर्दै टिमलाई अग्रता दिलाए । तर त्यो अग्रता धेरै टिकेन । आक्रामक खेल सुरु गरेको तिजोक पाँचथरले २१ औं मिनेटमा निर्देश राईको गोलमा खेल बराबरीमा ल्याए । दोस्रो हाफको १७ औं मिनेटमा पुनः तिजोक पाँचथरका राईले गोल गर्दै टिमलाई २-१ को जित दिलाए । ए डिभिजन लिग खेलिसकेका चेम्जोङको कप्तानीमा उत्रेको धनकुटाका खेलाडीबीच आपसी तालमेल हुन नसक्दा पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम तिजोक पाँचथरका निर्देश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजि प्रतियोगितामा  नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।  त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन गर्दै आएको छ ।

पाँचथर र धनकुटाबीचको खेल हेर्न यहाँ क्लिक गर्नुहोस् :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार