इलाम : जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य भूपेन्द्र नेम्बाङले पार्टी परित्याग गरेका छन् ।
आफू जनता समाजवादी पार्टीको समर्थक समेत रहन नसक्ने व्यहोराको पत्र जसपाको केन्द्रीय कार्यालयमा पठाउँदै नेम्बाङले पार्टी परित्याग गरेका हुन् ।
नेम्बाङ जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम) प्रदेश १ समितिका संस्थापक अध्यक्ष र पार्टीको पोलिटब्युरो सदस्य भएर काम गरिसकेका नेता हुन् ।
नेम्बाङ ११ असोज २०७५ मा विराटनगरमा सम्पन्न पार्टीको प्रथम प्रदेश भेलाबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका थिए । उनले अध्यक्षका अर्का प्रत्यासी प्रविण चाम्लिङलाई पारजित गर्दै अध्यक्षमा निर्वचित भएका थिए ।
चाम्लिङ १९ बैसाख २०७६ मा विराटनगरमा सम्पन्न पार्टीको प्रथम प्रादेशिक महाधिवेशनबाट भने अध्यक्षमा निर्वाचित भए । उनले प्रभावशाली नेता भुराज राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका थिए ।
तर, अहिले निर्वाचित र पराजित सबै नेताले जसपा छाडिसकेका छन् । अध्यक्ष चाम्लिङले गतवर्ष नै पार्टी परित्याग गरी स्वतन्त्र बसेका छन् । उनीसँग पराजित राईले समेत पार्टी परित्याग गरी एमाले प्रवेश गरिसकेका छन् । उनी एमाले प्रदेश सदस्य छन् ।
जसपामा पछिल्लो समय दशैभर पार्टी परित्याग गर्ने लहर नै चलेको छ । प्रभावशाली नेताहरुलाई समेत पार्टीमा राख्नु नसकेको भन्दै नेतृत्वप्रति तीब्र आलोचना कार्यकर्ताबीचमा भइरहेको छ । सो पार्टीका अधिकाशं युवाहरु राजनीतिक भविष्यबारे चिन्ता समेत व्यक्त गरिरहेका छन् ।
नेम्बाङ ‘पहिलो नागरिक’ अभियान
जसपा परित्याग गरेका नेम्बाङ ‘पहिलो नागरिक’ अभियानमा सामेल हुने भएका छन् । उनले नेपालको भोगोलिक र सामाजिक अवस्था अनुसारको राजनीति नेतृत्व विगत १९९४ देखि २०८० सम्ममा बनिएका पार्टीहरुबाट सहि राजनैतिक नेतृत्व हुन नकस्ने निष्कर्ष रहेको बताउँदै नयाँ अभियानमा सामेल हुने बताएका छन् ।
अभियानमार्फत नेपालको राजनीति, आर्थिक, सामाजिकलगायत क्षेत्रमा वहस चलाउने उनले बताए ।