गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा जारी प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ मा माङसेबुङ गाउँपालिका, देउमाई-९ जितपुर, मिक्लाजुङ रवि र महमाई एफसी सेमीफाइनल प्रवेश गरेका छन् ।
शनिबार गजुरमुखीधाम खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा पावा एफसी विरुद्ध १-० को कठिन जित निकाल्दै माङसेबुङ गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको हो ।
दोस्रो क्वाटरफाइनल खेलमा आयोजक गजुरमुखी पर्यटन विकास केन्द्रसँग १-० को संघर्षपूर्ण जित निकाल्दै देउमाई-९ जितपुर अन्तिम चारमा प्रवेश गरेको हो ।
तेस्रो क्वाटरफाइनल खेलमा आमचोक एफसीलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ रविले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि टाइब्रेकरका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
त्यसैगरी अन्तिम क्वाटरफाइनल खेलमा सडन डेथमा आङदाङ एफसीलाई पाखा लगाउँदै महमाई एफसी सेमीफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथको आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
आइतबार दुवै सेमीफाइलनका खेल हुनेछन् । पहिलो सेमीफाइलन खेलमा माङसेबुङ गाउँपालिका र मिक्लाजुङ रवि एवम् दोस्रो सेमीफाइनल खेलमा देउमाई-९ जितपुर र महमाई एफसीबीच खेल हुनेछ ।
गोल्डकपको फाइनल सोमबार (११ मंसिर) हुनेछ । गोल्डकपका विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजना ६ कात्तिकदेखि संचालित गोल्डकपमा १६ फुटबल टिमको सहभागिता थियो ।
गजुरमुखी धाममा कात्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । भोलि (आइतबार) देखि लाग्ने मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।
साँस्कृतिक कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन ४ की फाइनलिस्ट सविना योङहाङसहितका कलाकारहरुको प्रस्तुती रहनेछ ।