आत्मानन्द कप: माङसेबुङको विजयी सुरुआत (पूरा भिडियोसहित)

इलाम : जिल्लाको माङसेबुङ गाउँपालिकामा आत्मानन्द कप फुटबल प्रतियोगिता सुरु भएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको १६ औँ संस्करण सुरु भएको हो ।

प्रतियोगितामा घरेलु टोलि माङसेबुङले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा विदेशी टिम बिवाईसीलाई १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ विजयी बनेको हो ।

माङसेबुङले खेलको सुरुआतमा नै पाएको अवसरलाई सदुपयोग गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल बन्यो । खेलको १५ औं मिनेटमा माङसेबुङका ओसन राईले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो ।  घरेलु दर्शकको मसर्थन पाएको माङसेबुङले सुरुआतदेखि नै आक्रामक खेलेको थियो ।

पहिलो हाफमा १ गोलले पछि परेको भुटानले दोस्रो हाफमा लयमा फर्कने कोसिस गरेको थियो । तर उसको प्रयास सफल नभएपछि पहिलो खेलमै हारको स्वाद चाख्दै स्वदेश फर्कन बाध्य बन्यो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार तिजोक युवाक्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा जारी प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।  त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन गर्दै आएको छ ।

खेलको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार