इलाम : १६ औं संस्करणको आत्मानन्द कप अन्तरराष्ट्रिय फुटबल प्रतियोगिताको आज (शुक्रबार) सुरु भएको छ ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा १७ मंसिरसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङले गरे ।
उद्धघाटन खेलमा अहिले घरेलु टोलि माङसेबुङ गाउँपालिका र पाहुना टोलि बिवाईसी भुटानबीच प्रतिष्पर्धा भइरहेको छ । पहिलो हाफसम्मको नतिजामा माङसेबुङले १ गोलको अग्रता लिइरहेको छ ।
माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा संचालन हुने प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा नेपालको माङसेबुङ गाउँपालिका इलाम, धनकुटा फुटबल संघ धनकुटा, तिजोक युवाक्लब पाँचथर, छथर गाउँपालिका तेह्रथुम, सिरिजङगा स्पोर्टिङ क्लब पथरी शनिश्चरे मोरङ र गोलबजार स्पोर्टिङ क्लब सिराहा सहभागी हुनेछन् । पाहुना टिमको रुपमा एम.एफ.सी. दार्जिलिङ भारत र बि.वाई.सी. भुटान सहभागी छन् ।
प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने समेत आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिए । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।
जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन गर्दै आएको छ