गजुरमुखी मेला गोल्डकप : पावा, देउमाई र माङसेबुङ विजयी

  नयाँ बुलन्द
1.1k Shares

गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा बुधबारदेखि प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ सुरु भएको छ ।

पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । गजुरमुखी धाम खेलमैदानमा भएको खेलमा पावा एफसी, देउमाई-९ र माङसेबुङ गाउँपालिका विजयी भएका छन् ।

उद्घाटन  खेलमा एकतप्पा एफसीलाई टाइब्रेकरमा हराउँदै पावा एफसी क्वाटरफाइनल प्रवेश गरेको छ । निर्धारित समयको खेलमा हारजित नभएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।

दोस्रो खेलमा माङसेबुङ-१ लाई ३-० गोलको सहज जितमा पाखा लगाउँदै देउमाई-९ अघिल्लो चरणमा प्रवेश गरेको हो ।

त्यसैगरी तेस्रो खेलमा बीवाईसी धुसेनीलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै माङसेबुङ गाउँपालिका अघिल्लो चरणमा प्रवेश गर्यो ।

प्रतियोगिता अन्तरगत विहीबार पनि तीन खेल संचालन हुनेछन् । पहिलो खेलमा  फुएतप्पा एफसी र चिबुवा एफसी, दोस्रो खेलमा फाकफोकथुम-४ र आमचोक तथा तेस्रो खेलमा आङदाङ एफसी र जनसाहित्य एफसी भिड्दैछन् ।

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास समितिले आयोजना गरेको गोल्डकपमा १६ फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।

आयोजक गजुरमुखी पर्यटन विकास समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, माङसेबुङ गाउँपालिका १ का वडाअध्यक्ष भूपाल योङहाङलगायतको उपस्थिति थियो ।

गजुरमुखी धाममा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आउँदो १० देखि १२ मंसिरसम्म लाग्ने मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार