इलाम : किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको तयारी सुरु भएको छ । किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा ८ देखि २० मंसिरसम्म विभिन्न कार्यक्रम गरी मनाइने जन्मोत्सवको तयारी सुरु भएको समितिका महासचिव काकीराम लावती (आन्छुमे नसान) ले जानकारी दिए ।
जन्मोत्सवको अवसरमा माङसेबुङ गाउँपालिका-५ स्थित माङसेबुङ (लारुम्बा) मा विभिन्न कार्यक्रमको तय गरिएको छ । ८ मंसिरदेखि आत्मानन्द कप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता संचालन हुनेछ । साथमा विभिन्न किराती खेलहरु समेत संचालन हुनेछन् । १६ मंसिरमा साक्मुरा वादेम्मा सेवा हुनेछ ।
त्यसैगरी १७ मंसिरमा विश्व शान्ति तथा मानव एकताका लागि किरात हाडसाम मुजोत्लुड माडहिममा येत् नाम्खुड लाघुडसेमी सेवा तथा आत्मानन्द कपको फाइनल खेलसँगै खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरूलाई पुरस्कार वितरण हुनेछन् ।
१८ मंसिरमा धर्मगुरु लिङदेनको ७० औं जन्मोत्सव तथा धर्मगुरुमा साँवा पवित्रहाङमा लिङदेनको नुमाङगेन्ना सेवा समारोह-२०८० समुद्घाटन, शुभकामना मन्तव्य, धन्यवाद आशीर्वचन साथै सावायेहाड नुमाडगेन्ना सेवा (माडगेन्ना सेवा मुन्धुम ७० जना माङसेवासाबा माङसेवासामाबाट वाचन), साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुड इक्ला गायन प्रतियोगिता सञ्चालन हुनेछन् ।
त्यस्तै १९ मंसिरमा धर्मगुरु र धर्मगुरुमाबाट माङ आशीर्वचन, मिक्तोक (उपहार) अर्पण, संस्थागत धन्यवाद-पत्र वितरण, पुस्तक पुस्तिका विमोचन, माडगेन्ना चामल वितरणपछि साँझ बृहत सांस्कृतिक कार्यक्रममा माङसेबुड इक्ला गायन प्रतियोगिता सञ्चालन हुनेछन् ।
२० मंसिरमा माडगेन्ना चामल वितरणसँगै विदाईको कार्यक्रम तय भएको छ ।
हरेक वर्ष मुलुकको उच्च ओहोदाका व्यक्तिहरुको उपस्थिती हुने धर्मगुरुको जन्मोत्सवमा यस वर्ष आउने अतिथिको टुङ्गो लागिसकेको छैन । धर्मगुरु लिङदेनको जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन हरेक वर्ष एकजना उच्च ओहोदाका व्यक्ति माङसेबुङ आउने गरेका छन् ।

माङसेबुङ गाउँपालिका-२ इभाङको चुक्चिनाम्बा अगौटेबारीमा १८ मंसिर २०११ मा जन्मिएका लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् । उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।
किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिएको माङसेबुङमा धर्मगुरुको जन्मोत्सवमा बर्सेनि राज्यका विशिष्ट व्यक्तित्वहरुको उपस्थिती हुने गर्दछ । जन्मोत्सवमा यसअघि पूर्व राजा वीरेन्द्र शाह र ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइराला, शुशिल कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ, पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत माङसेबुङ आइसकेका छन् ।
धुम्रपान मध्यमान निषेधित क्षेत्र
माङसेबुङ क्षेत्र धुम्रपान मध्यपान निषेधित क्षेत्र हो । माङसेबुङ गाउँपालिका-५ र ३ मा पर्ने माङसेबुङ रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरुको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमंस, धूम्रपान, जुवातास, लागुऔषध, हुलहुज्जत तथा अश्लिल कार्य निषेधित क्षेत्र घोषणा छ ।