गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा प्रथम गजुरमुखी मेला गोल्डकप फुटबल प्रतियोगिता संचाल हुने भएको छ ।
कार्तिक शुक्ल पूर्णिमामा लाग्ने गजुमुखी (कात्तिके) मेलाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा पहिलोपटक गोल्डकप संचालन हुन लागेको हो ।
आउँदो ६ मंसिरदेखि संचालन हुने प्रतियोगिताको फाइनल कार्तिक पूर्णिमाको दिन ११ मंसिरमा हुनेछ । प्रतियोगितामा १६ टिमलाई सहभागिता गराईने आयोजक गजुरमुखी पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।
गजुरमुखी धाममा कार्तिक शुक्ल पूर्णिमामा मेला लाग्ने गरेको छ । सो मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।