नेपाल एकीकरणका अभियन्ता बडामहाराजधिराज पृथ्वीनारायण शाहका समकालीन हुन् तत्कालीन लिम्बुवानका अन्तिम राजा हिलिङ योङहाङ। दुवै राजाको साझा सोच नै विशाल नेपालको परिकल्पना हो। तर, आपसमा १७औं पटकसम्मयुद्ध भयो। त्यसपछि सम्झौता गर्ने निर्णय गरेर १८३१ सालमा गोर्खाली र लिम्बुबीच ऐतिहासिक दूरदर्शी सम्झौता भयो। परिणाम, वर्तमान नेपालको नक्सा कोरिन सफल भयो। जसमा हाङ हिलिहाङ योङहाङले सहजीकरण गरेका थिए।
जुन सम्झौतामा पाँचबुँदे अकाट्य/कालजयी मेलमिलाव गरी गोर्खालाई केन्द्रीय सरकार मान्ने र गोर्खाली शाहलाई दाजु र लिम्बुवान (हिलिहाङका सन्तान) लाई भाइ मान्ने गरी ‘सुनपानी बाचा’ गरेका थिए। विशाल नेपालको परिकल्पनासहित यो सहमति अगाडि बढाउन दुवै सेनाद्वारा तयार भएका थिए। यसरी छिमेकी मुलुकहरू तिब्बत र सिक्खिमलगायतको सम्भावित आक्रमणलाई रोक्न संयुक्त सैन्य दस्ता खडा गरी लड्ने निर्णय गरेका थिए। जुन सम्झौता भएपश्चात् विशाल अधिराज्य नेपालको नक्सा बनाएका राष्ट्र निर्माता योद्धाहरूको स्मरण गर्दै जानु र लानु, सारा नेपालीको कर्तव्य र अधिकार हो भन्ने बुझ्न सके सुनमा सुगन्ध हुनेछ।
सार्वभौम राष्ट्र स्वतन्त्र राज्य र विशाल नेपाल देश बन्न र बनाउन विभिन्न कालखण्डमा विभिन्न पर्व तथा कोतपर्व नभएका होइनन्। जुन कोतपर्वहरूमा बहुुभाषिक, बहुधार्मिक र बहुसांकृतिक सम्बोधन गराउन थुप्रै योद्धहरूले सहादत प्राप्त गरेका थिए। उनै प्रत्येक योद्धाहरूको इतिहास खोतल्नु र पुस्ता हस्तान्तरण गर्दै बुझाउँदै जानु र लानु तथा स्मृति गान गर्दै एक कालखण्डको पुनःताजकी नै इतिहास हो। तर, कुन इतिहास महत्वपूर्ण र सम्झन लायक छ त ! यतिबेला हामी हिलिहाङको २९७औं जन्मजयन्ती मनाइरहेका छौं।
इतिहाससँगै जोडिएर आउने सभ्यता, संस्कार संस्कृतिहरू जोगेर्ना गर्ने भाइचारा हिसाबले राज्यले हेरिनु हुँदैन। तब मात्र देश सिमाना सुरक्षित मुलुक अखण्डता र राज्यका फूलबारी ढकमक्क फुल्न, फल्न र सुगन्ध दिई हराभरा हुन सक्छ। दुवै राजा पृथ्वीनारायण शाह र हिलिहाङ योङहाङ नेपालका एकताका प्रतीक हुन्। दुवैले दूरदर्शी सम्झौता गरी सारा नेपालीलाई नासोका रूपमा छाडेर गए। नेपाल एकीकरणका क्रममा ससाना राजा महाराजा र उनीहरूद्वारा चलाएका टुक्रे राज्यहरूलाई राजनीतिक, रणनीतिक र कूटनीतिकद्वारा साना ठूला खेस्रा सम्झौता गर्ने सेनकालीनवाट सुरु गरी पूर्व–पश्चिम, उत्तर–दक्षिण गाभे। विशाल नेपालको परिकल्पना अभियान सफल पारेका थिए।
नेपालको इतिहासमा शाहका गाथाहरू सबै नेपालीले शिरोधार गर्नै पर्छ। उनले परिकल्पना नगरेको भए आजसम्म टुक्रे राज्यहरू यथावत् रहन्थे सायद। नेपालको इतिहासमा धेरै सम्झौता भए। तर, गोर्खाली–लिम्बुवान बीचको सम्झौता लालमोहर एक कालखण्डको एक ऐतिहासिक एवं कालजयी दस्तावेज बनेर बसेको छ। त्यो सम्झौतापत्र लालमोहर, ताम्रपत्र धेरै लेखर पुस्तकमा पढ्न र देख्न सकिन्छ। ती यस्ता दस्तावेज राज्य र समाजका लागि सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्छ। इतिहास भनेको एक जिउँदो दस्तावेज हो। सहअस्तित्वको प्रमाण र जिउने आधार हो र चिनारीको माध्यम हो। त्यसकारण सबैले आआफ्नो इतिहास लेख्नु, देख्नु र बुझ्नुपर्छ।
अन्यको जातिको अगाडि जिउँदो सहिद भएर एकपटक मात्र होइन, पटक–पटक मरिरहनु पर्छ। त्यसैले हरेक जातिको इतिहास भनेको अनुशासनको कडी हो, विद्यान हो अनिसंविधान हो। देश, भूगोल र राज्यभित्र रहेका सबै जनतालाई उनको इतिहासवारे बुझ्ने र जान्ने अधिकार पनि हो। बहुजाति, बहुभाषी र बहुसंस्कृतिलाई एकसुत्र एकै मालामा बाँधिने माध्यम र आधार एकीकरणसँगै वडामहाराज पृथ्वीनारायण र हिलिहाङबीचको सम्झौता नै हो। राष्ट्रनिर्माता पृथ्वीनारायणर हिलिहाङबीचको दूरदर्शी अभियानलाई सदैव नेपालीले सगौरव सम्झनुपर्ने हुन्छ। सयौं टुक्रे राजाहरू एकीकरण गराउने ठूलो भूमिकालाई नजर अन्दाज गर्नुपर्छ। जुन पृथ्वीनारायण शाहको अभियानमा साथमा साथ, हातमा हात र काँधमाकाँध नथापेको भए सायद विशाल अधिराज्य नेपालको परिकल्पना अधुरो रहने थियो।
पृथ्वीनारायण र हिलिहाङ अन्य राजाभन्दा पृथक हिसावले राज्य निर्माणको अभियानमा लागेका थिए। उनीहरूले एक ऐतिहासिक र कालजयी सम्झौता गर्न दूरदर्शीता देखाएकै हुन्। दुवैलाई राष्ट्र निर्माताको रूपमा मानेर जानु र लानु नेपालीको कर्तव्य र अधिकार हुन आउँछ। जिउँदो इतिहासका पात्रहरूको तत्कालीन उनीहरूको दरबार पुरातात्विक हिसावले तेरो मेरो नभनी साझा हिसावले राज्यले सम्बोधन, संरक्षण र प्रवद्र्धन गर्नुपर्छ। जसरी बडामहाराजधिराज पृथ्वीनाराणको गोर्खास्थित दरवारलाई पुरातात्विक, ऐतिहासिक र विश्वसम्पदा सूचीमा सूचीकृत राज्यले गराए जसरी नै उनका समकालीन हिलिहाङको दरबार पनि बराबरी हिसाबले हेरिनुपर्छ।
यसो गरेमात्र सबै नेपाली एकै फूलबारी भएर ढकमक फुल्न, फल्न र मिठो सुगन्ध वास्ना दिएर बाँच्न पाउनेछन्। यसैगरी देश, मुलुक र राज्य समृद्ध नेपाल सुखी नेपाली बनी देश विकास र राज्यले निकास पाउने छ। हिलिहाङ दरबार पाँचथर जिल्लाको उत्तर पश्चिममा तमोर कावेली नदीको आडमा छ। हिलिहाङ गाउँपालिका उनै हाङ हिलिहाङ योङहाङ राजाको स्मृतिमा बनाइएको गाउँपालिका हो। दरवार समुद्र सतहबाट करिव १४/१५ सय उचाइमा छ। यस दरबारवाट सगरमाथा, कञ्चनजंगा पाथिभरा (मुकुम्लुङ) मन्दिर, मधेसका समतल फाँटहरू दृश्यावलोकन गर्र्न सकिन्छ। पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बोकेर बसेको हिलिहाङ दरबार पूर्वाञ्चलकै एक नमुना र सम्भाव्य पर्यटकीय स्थल हो।
पर्यटकीय हिसावले मात्र नभएर ऐतिहासिक विशेषता बोकेको यो पुरातात्विक सम्पदा र कुनै कालखण्डको जिउँदो इतिहास भएकाले अध्ययन–अनुसन्धानको केन्द्र पनि हो। इतिहासबिनाको देश र सभ्यताबिनाको मानव सदैव, अपूर्ण र अधुरो हुनेछ। त्यसकारण राज्यभित्रका सबै जाति, वर्ग र समुदायसँग जोडिएर बसेका सबै पुरातात्विक महत्वका दरबार, मठमन्दिर र सम्पदाबीच काखा र पाखा गर्नुहुन्न। सोही मान्यता र सिद्धान्तलाई अंगीकार गर्दै हिलिहाङ फाउन्डेसन यसका लागि जोडदार माग गर्दै आएको छ। करिब २५० वर्षपछि राज्यद्वारा सम्बोधन भई इतिहास पुनःताजकी गर्ने संघ, प्रदेश र स्थानिय तहद्वारा बजेट विनियोजन भई हिलिहाङ प्रवेशद्वारसहित हिलिहाङ संग्रहालय सम्पन्न भइसकेको छ। केन्द्रीय सरकारकै बजेटमा विशाल हिलिहाङ दरवार धमाधम बन्दैछ जुन अति सहरानीय पक्ष हो।
– लिम्बू हिलिहाङ फाउन्डेसन काठमाडौंका अध्यक्ष छन्।