कोलबोटे र चुलाचुली सेमिफाइनल प्रवेश

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ एफसी चुलाचुली सेमीफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको पहिलो खेलमा जुनतारा एफसी माङसेबुङलाई ३-१ गोलअन्तरले पराजित गर्दै  कोलबोटेले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो । जितका लागि कोलबोटेका दिनेश शेर्मा, सन्तोष लिम्बू र शुकराज राईले १/१ गोल गरे । माङसेबुङका कप्तान मनु लिम्बूले एकमात्र सान्तवाना गोल फर्काए ।  म्यान अफ दी म्याच विजेता कोलबो६ैका शुकराज राई घोषित भए ।

त्यस्तै दोस्रो खेलमा लिटल किकर्स एफसी दमकलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै चुलाचुलीले पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो । खेलको म्यान अफ दी म्याच विजेता चुलाचुलीका गोलकिपर युविन राई घोषित भए ।

फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा जारी प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।

स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार